अर्थ-वाणिज्य

सगरमाथासहित ४ हिमाल सफाई गर्न ८ करोड बढी बजेट ,चैत २२ बाट सफाई शुरु गरिदै



काठमाडौं ३० फागुन -नेपाली सेनाको नेतृत्वमा २०७८ चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ । मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा तालिम चलिरहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले   बताए ।

नेपालमा ८ हजार मिटरका आठ वटा हिमाल र ६ हजार माथिका १३ सय १० वटा चुचुराहरू छन् । तीमध्ये सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लुको बेस क्याम्प भन्दा माथी र बेसक्याम्प वरपरबाट ३५ टन फोहाेर संकलन गर्ने सेनाको योजना छ । हिमाल सफाई गर्न सेनालाई सरकारले ८ करोड ३० लाख बिनियोजन गरेको छ । तर, सफाइका लागी सेनाले १२ करोड बजेट मागेको छ । सफाई अभियानमा २९ जना सैनिक, ४८ जना शेर्पा र समन्वय समिति र रियरअप्स ग्रुपका १४ जनासहित ९१ जना खटिनेछन् ।

सफाइमा खटिनेहरुका लागी आवश्यक पर्सनल क्लोदिङ्ग तथा इक्युपमेन्ट खरिद, ह्याण्डलिङ्ग एजेन्सीको खरिद र भत्ता बापत सरकारले ८ करोड ३० लाख बिनियोजन गरेको हो । सरकारले छुट्याएको रकम बाहेक सेनाको तर्फबाट हुने हवाई साधन र मेडिकल तथा संचारबापत करिब १ करोड ३० लाख सेनाले खर्च गर्न लागेको सहायकरथी सिलवालले जानकारी दिए ।

यस पटकको हिमाल सफाइ अभियान २०७८ चैत २२ देखी २०७९ जेष्ठ २२ सम्म चल्नेछ । सगरमाथा र ल्होत्से हिमालमा ५५ दिन तथा कञ्चनजंघा र मनास्लुमा ४५ दिन सफाई गरिनेछ । सेनाले हिमालबाट २०१९ मा १० टन र २०२१ मा २७ दशमलव ६ टन फोहोर संकलन गरेको थियो । २०२१ मा हिउँमा पुरिएका ४ वटा शव निकालिएको थियो ।

हिमाल सफाइमा खटिने सेना र अन्य अभियानकर्मीले आरोहण दस्तुर तिर्नुपर्दैन । संकलित फोहर काठमाडौं ल्याउनको लागी बजेटको समस्या रहेको हुनाले हिमाल आसपासका स्थानिय निकायलाई हस्तान्तरण गरिने सहायकरथी सिलवालले जानकारी दिए ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६