काठमाडौ ४ चैत – जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ।
प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ।
पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ। देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ।
देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ। सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
सो सबस्टेशनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ। सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।
ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन्। न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ।
प्रतिक्रिया