प्रदेश

तिन जिल्ला जोड्ने तीनमुखे पुल निर्माणको काम अन्तिम चरणमा




काठमाण्डौ, २९ चैत्र । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो ।

तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । अहिले पुलको दुईतिर जाली, सोलार र भर्याङ निर्माणको काम भइरहेको छ । चार धाममध्येको एक रुरुमा तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

कालीगण्डकी नदीमाथि पुल निर्माणपछि पुल हेर्नकै लागि आन्तरिक पर्यटकको चहलपहल बढ्ने स्थानीय बासिन्दा विष्णु परियारले बताउनुभयो । अबको एक महिनाभित्र पुलको काम सक्ने लक्ष्य रहेको निर्माण व्यवसायी सुशान्त यादवले बताउनुभयो ।

झन्डै नौ करोड ८८ लाख लागतमा नयाँ बाटो रुविना मना जेभीले पुलको ठेक्का सम्झौता गरेको थियो । २०७१ मंसिरदेखि पुल निमार्णको काम थालिएको थियो । बर्खामा कालीगण्डकी नदीमा आउने बाढी तथा कोरोना महामारी र आर्थिक अभावले समयमै काम सक्न नसकेको निर्माण व्यवसायी यादवले बताउनुभयो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६