अर्थ-वाणिज्य

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन



सुनसरी, २६ कात्तिक

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत ३० वर्षदेखि बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले बुबाआमाबाट सिकेको पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै यी सामग्री उत्पादन गर्दै आउनुभएको हो । “पहिले बुबाआमाले गर्दै आउनुभएको पेसालाई अहिले हामीले निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो, “गाउँबाट प्रतिघान रु दुई सय ५० मा बाँस खरिद गरी चोया निकालेर सामग्री बनाउने गरेका छौँ । एउटा सामान्य सामग्री तयार पार्न करिब दुई घण्टा लाग्छ ।” उहाँले उत्पादन गरेका सामग्रीको मूल्य रु ५० देखि ५०० सम्म पर्ने गरेको छ । पूजाआजामा सीमित समय प्रयोग हुने भएकाले महँगा सामग्रीको बिक्री कम हुने उहाँको भनाइ छ । उहाँले स्थानीय हटिया बजारमा सामग्री बिक्री गर्दै आउनुभएको छ । विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियालगायत सामग्रीको प्रयोग बढी हुने भएकाले विवाहको मौसममा माग बढ्ने गरेको उहाँले बताउनुभयो । तिहार र छठ पर्वमा पूजाका लागि पनि यस्ता सामग्रीको प्रयोग हुने भएकाले बिक्री बढ्ने गरेको छ । केही ग्राहक घरमै आएर सामग्री खरिद गर्ने भए पनि उहाँ आफैँ इनरुवाको सोमबारे र बिहीबारे हटियामा लगेर बिक्री गर्नुहुन्छ । “अरू कुनै पेसा व्यवसाय छैन । वर्षभरि यही काम गर्छौँ । आम्दानीको हिसाब राख्ने गरेका छैनौँ, तर परिवारको जीविकोपार्जनको मुख्य आधार यही पेसा हो”, उहाँले भन्नुभयो । यसैगरी, इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राईले पनि बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आउनुभएको छ । पुख्र्यौली सीपलाई व्यावसायिक रूपमा अघि बढाउनुभएका उहाँले करिब दुई दशकदेखि नाङ्लो उत्पादन गरी बिक्री गर्दै आउनुभएको हो । “यो हाम्रो पुर्ख्यौली पेसा हो । समय दिएर मेहनतका साथ काम गर्न सकियो भने आम्दानी पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “नाङ्लो बिक्रीबाट वार्षिक करिब रु सातदेखि आठ लाखसम्मको कारोबार हुन्छ । यही आम्दानीबाट घरखर्च, छोराको पढाइ र परिवारका अन्य आवश्यकता पूरा गर्दै आएका छौँ ।” उहाँले नाङ्लो बनाउन आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्नुभएको छ । एउटा बाँसको मूल्य रु दुई सयदेखि तीन सयसम्म पर्ने र त्यसबाट १० देखि १२ वटासम्म नाङ्लो बनाउन सकिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्तामा करिब एक सयभन्दा बढी नाङ्लो तयार गर्न सकिन्छ । उत्पादित नाङ्लो व्यापारीले प्रायः हरेक हप्ता घरमै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गरेका नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायत स्थानमा बिक्री हुने गरेका छन् । एउटा नाङ्लोको मूल्य रु एक सय ३० देखि दुई सय ५० सम्म पर्ने उहाँले बताउनुभयो । “नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट नाङ्लो ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो भोजपुरका व्यापारी आएर लैजानुहुन्छ”, उहाँले भन्नुभयो । दसैँ, तिहार र छठलगायत चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने भएकाले भदौ, असोज र कात्तिकमा यसको बिक्री अन्य समयको तुलनामा बढ्ने गरेको उहाँले बताउनुभयो । सुनौलो बस्तीमा राईसहित १५ भन्दा बढी घरपरिवारले व्यावसायिक रूपमा बाँसको चोयाबाट नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आएका छन् । यस पेसाले परिवारका सदस्यलाई घरमै बसेर काम गर्ने अवसर दिनुका साथै परम्परागत सीपको संरक्षणमा समेत सहयोग पुर्‍याएको उहाँको भनाइ छ । “अरूकोमा मजदुरी गर्नुभन्दा घरमै बसेर पुख्र्यौली सीपलाई निरन्तरता दिँदै कमाउनु फाइदाजनक छ । मेहनत गर्नुपर्छ, आम्दानी राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “नाङ्लो बुनेर आएको आम्दानीबाट सानो घर बनाएको छु । छोराछोरीको पढाइ खर्च पनि यही पेसाबाट जुटाएको छु ।” ग्राहकको मागअनुसार विभिन्न आकार र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने भए पनि बजारमा माग रहेअनुसार मूल्य भने बढ्न नसकेको उहाँले बताउनुभयो । —

प्रकाशित : २७ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६