काठमाण्डौं, ३० चैत्र ।
सत्ता गठबन्धनमा लामो रस्साकस्सीपछि चुनावी तालमेलको मापदण्ड तयार भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त मापदण्ड बनेको हो । गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि तयार पारेको सात बुँदे मापदण्ड माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव भएको खुलेको छ । प्रचण्डले माघको दोस्रो साता काँग्रेस महामन्त्री गगन थापासँगको छलफलमा पहिलो पटक स्थानीय तहको चुनावी तालमेलको सूत्र सुनाएका थिए । त्यसपछि प्रचण्डले सार्वजनिक कार्यक्रमदेखि र आन्तरिक बैठकमा उक्त सूत्र सुनाउने गरेका थिए ।
माघको दोस्रो साता खुमलटार पुगेका थापालाई प्रचण्डले सुनाएको सूत्र अनुसार नै मंगलबार गठबन्धनले मापदण्ड तयार गरेको छ । प्रचण्डले ०७४ को स्थानीय तहमा गठबन्धनमा आबद्ध दलले जितेको सिट सुरक्षित राखेर एमालेले जितेको ठाउँमा तालमेलको प्रस्ताव अगाडि सारेका थिए । ‘काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा जितेको ठाउँमा उसैलाई छोडेर जाऊ । एमाले र अन्य दलले जितेको पालिकामा भागबण्डा गरौँ,’ प्रचण्डको भनाइ थियो ।
गठबन्धनबाहेका दलले जितेको पालिकामा पनि काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको ‘स्ट्रेन्थ हेरेर लडौँ’ भन्ने प्रचण्डको प्रस्ताव थियो । प्रचण्डले ६ वटा बुँदासहित सोही प्रस्ताव गठबन्धनको बैठकमा राखेका थिए । उनको प्रस्तावमा काँग्रेस, जसपा र जनमोर्चाका शीर्ष नेताले सहमति जनाए । तर एकीकृत समाजवादीले भने केही विमति राखेको थियो । प्रचण्डले बैठकमा राखेको प्रस्तावमा चुनावी तालमेल गर्दा एकीकृत समाजवादीलाई विशेष ग्राहयता दिने उल्लेख थियो । एकीकृत समाजवादीका नेताले विशेष ग्राहयता दिने भन्ने कुरा हामीलाई दया–माया गरे जस्तो भयो भनेपछि भाषा चेन्ज गरिएको थियो ।
यस्तै समाजवादीले एमालेले जितेका पालिका मध्ये ५० प्रतिशत आफूले पाउनुपर्ने माग राखेको थियो । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले भने, ‘हामी विगतमा एमाले भएर चुनाव लडेका थियौँ । एमालेको विगतको जनमत नै हाम्रो जनमत हो । त्यसको ५० प्रतिशत हामी हो भन्ने दाबी थियो ।’ तर केका आधारमा एकीकृत समाजवादीलाई एमालेको ५० प्रतिशत हिस्सा भन्ने गठबन्धनमा प्रश्न उठ्यो । काँग्रेस, माओवादी र जसपा एकीकृत समाजवादीलाई एमालेको ५० प्रतिशत हिस्सा मान्न तयार नभएपछि शाब्दिक व्याख्या गरिएको देखिन्छ ।
समाजवादीका महासचिव वेदुराम भुसालले पनि सो कुरा स्वीकार गरे । उनले भने, ‘गठबन्धन दलबीच हामीलाई एमालेको ५० प्रतिशत भनेर नभनौँ । एमाले विभाजित भएर बनेको मुख्य शक्तिका भनौँ र त्यही अनुसार व्यवहार गरौँ भन्ने सहमति भएको हो ।’
भुसालका अनुसार यो सहमतिसँगै स्थानीय तहमा एकीकृत समाजवादीको सम्मानजनक स्थान रहने निश्चित भएको छ । ‘गठबन्धन बाहिरका एमाले र अन्य दलले जितेका ठाउँमा एकीकृत समाजवादी एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रूपमा रहेको यथार्थलाई मनन गर्ने मापदण्ड राखिएको छ,’ उनले भने, ‘त्यही अनुसार चुनावी तालमेल हुन्छ । मापदण्ड अनुसार हामीले अब सम्मानजनक स्थान पाउने निश्चित भएको छ ।’ गठबन्धनभित्र एकीकृत समाजवादीलाई प्रतिशत नभई शक्तिका हिसाबले हेरिएको उनको भनाइ छ ।
काँग्रेसको निर्णयमा गठबन्धनलाई बाँधेर चुनावी तालमेल स्थानीय कमिटीबाट गर्ने सहमति भएको थियो । त्यही अनुसार गठबन्धनका प्रदेश, जिल्ला र स्थानीय तहका संयन्त्रलाई तालमेल गर्न भनिएको थियो । तर तल्लो तहले केन्द्रीय तहको आधारविहीन तालमेल गर्न नसकेपछि सामान्य मापदण्ड बनाइएको छ । तर हिजो । काँग्रेसका केही नेता, माओवादी, एकीकृत समाजवादीले केन्द्रबाट भागबण्डा मिलाउन चाहेका थिए । उनीहरूको नीति जसले जहाँ जितेको छ, उसले लिने भन्ने थियो ।
प्रतिक्रिया