काठमाडौं, ०९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गर्नुभयो । त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानकाबारेमा जानकारी गराउनुभएको थियो । महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नुभएको थियो ।
उहाँले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको पनि ढकालले जानकारी दिनुभयो । यसैगरी, आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि महानिर्देशक डा। टेड्रोसले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशक डा। टेड्रोसले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आउनुभएको छ । उहाँ यही वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ । रासस
प्रतिक्रिया