कपिलवस्तु, १० बैशाख ।
कपिलवस्तुको वाणगंगामा अन्ततः तीन दलीय गठबन्धन बीच चुनावी तालमेल हुने भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको पूर्व सन्ध्यामा तीन दलीय गठबन्धन बीच चुनावी तालमेल भएको हो ।
नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप मेयरमा उठाउने गरि चुनावी तालमेल भएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य नारायण खनालले जानकारी दिनुभयो ।
केन्द्रीय सत्ता गठबन्धन बीचका ५ दल बीच पटक पटक वार्ता भएपनि कांग्रेसले चुनावी तालमेलका लागि अनिच्छा देखाए पछि वाणगंगामा तीन दल एक भएर चुनाव लड्ने घोषणा गरेका हुन् । वाणगंगामा कांग्रेसले एक्लै चुनाव लड्ने अनौपचारिक रुपमा बताउँदै आएपनि शनिबार औपचारिक रुपमै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाइएको छ ।
यता नेकपा (माओवादी केन्द्र)ले वाणगंगामा एक्लै चुनाव लड्ने बताउँदै आएको छ । कांग्रेससंग औपचारिक, अनौपचारिक संवाद गर्दै आएको माओवादीले शनिबार आफ्नो दल एक्लै चुनाव लड्ने गरि तयारी गरेको जनाएको छ । स्रोतका अनुसार माओवादीले आफ्नो जनमत रक्षाका लागि एक्लै चुनावमा होमिन लागेको हो ।
वाणगंगामा ०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो । ११ वडा रहेको वाणगंगामा एमाले एक्लैले उप मेयरसहित ७ वडामा चुनाव जितेको थियो । एमालेको बलियो पकड मानिदै आएको वाणगंगामा ०७४ को स्थानीय तहमा कांग्रेसले मेयरसहित ३ वडामा चुनाव जित्दा माओवादी उपमेयरसहित पराजित भएको थियो । यद्यपि वडा नं. ११ मा कांग्रेस र माओवादी बीच चुनावी तालमेल भंग हुँदा माओवादीका उम्मेद्वारले चुनाव जितेर सबैलाई चकित पारेका थिए ।
शनिबार भएको एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी तालमेलमा समग्र वाणगंगाको विकासका लागि साझा घोषणापत्र सहित उम्मेद्वार दिने सहमति गरेका छन् । ११ वडामा ५ वडामा राष्ट्रिय जनमोर्चा, तीन, तीन वडामा एकीकृत समाजवादी र जसपाले उम्मेद्वार उठाउने छन् । बैशाख १२ गते संयुक्त रुपमा मनोनयन दर्ताको तयारी थालेका यी तीन दलले आइतबारसम्म अरु कुनै दल गठबन्धनमा सहभागी हुन चाहे संवाद गर्न सकिने निर्णय गरेका छन् ।
केन्द्रीय गठबन्धनको मर्मकै पक्षमा रहेको बताउँने तीन दलले बाध्य भएर आफुहरु चुनावी प्रक्रियामा सहभागी हुन थालेको जनाएका छन् । ठूला दलहरुको आफ्नै ढिपीका कारण चाहेर पनि गठबन्धन हुन नसकेको बताउँदै मनोनयन दर्ताको समयसम्म कुनै सहमति भए छलफल गर्न सकिने उनीहरुको भनाई छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले वाणगंगामा ५ दलीय गठबन्धन गर्नका लागि विभिन्न छलफल भएपनि त्यो निष्कर्षमा पुग्न नसकेको बताए । गठबन्धन विशेष परिस्थितिले बने पनि यसको मर्म बुझ्न कांग्रेसले नसकेको अध्यक्ष आचार्यले बताए । यद्यपि चुनाव संघर्षकै एक रुप भएकाले आफुहरु मिल्न सक्ने दलहरु बीच चुनावी तालमेल गरेको उनले जनाए ।
एकीकृत समाजवादीका जिल्ला उप सचिव कमल भट्टराईले तीन दलीय गठबन्धनलाई वाणंगाबासीले आफ्नो मत दिएर जताउनेमा आफुहरु विश्वस्त रहेको बताए । सम्रग वाणगंगाको विकास र समाजवादको लक्ष्य प्राप्तिका लागि आम मतादताको रोजाई तीन दलीय गठबन्धन बीचका उम्मेद्वार बन्नेमा उनले विश्वास व्यक्त गरे ।
यता एकीकृत समाजवादीले शनिबार मात्र वाणगंगामा उप मेयरसहित उम्मेद्वारी टुंङ्ग्याएको छ । कमल भट्टराईलाई वाणगंगामा उप मेयर उठाई चुनावी प्रक्रियामा सामेल हुने निर्णय भएको उक्त पार्टीका नगर अध्यक्ष दीपक पन्थीले जनाए । एकीकृत समाजवादीले आइतबारसम्म गठबन्धनबाट प्राप्त ठाउँमा उम्मेद्वारको टुंगो लगाउने अध्यक्ष पन्थीले बताए ।
वाणगंगाको मेयरमा उम्मेद्वारी पाएको राष्ट्रिय जनमोर्चाले कसलाई मेयरमा उठाउँछ अझै बाहिर आइसकेको छैन् । आइतबार विहानसम्म मेयरको उम्मेद्वार सार्वजनिक गर्ने सो पार्टीका नेता शसीधर सापकोटाले जनाए । वडाअध्यक्षको टुंगो पनि आइतबार नै लगाउने उनले जनाए ।
प्रतिक्रिया