कपिलवस्तुको बाणगंगा नगरपालिकाको एउटा परिवार नै विरामी भएपछि समस्या भएको छ । वडा नम्बर ३ कर्मना निवासी नारायण शर्माको परिवारमा रहेका ५ जना नै विरामी भएपछि चरम समस्यामा परेका हुन् ।
स्वयम् शर्मा, श्रीमती देवी शर्मा र छोरो शिशिर शर्मा विरामी भएपछि अहिले काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने अरु २ जना सामान्य विरामी छन् । जसको कारण विहान साँझ छाक टार्न समस्या भएको मायादेवी अनलाइनको कार्यालयमा आएर शर्माले दुखेसो पोख्नुभयो ।
रुँदै उहाँले भन्नुभयो ‘यी हेर्नुहोस् ६ बर्षका छोरा शिशिर शर्माको घाँटीमा क्यान्सर छ । विहान साँझ खाँदैन । टोलाइरहन्छ । यसको उपचारमा अहिलेसम्म ७ लाख खर्च भयो । अब केही सिप छैन मसंग मिडियाले केही गर्छकि भनेर आएको हुँ ’।
आफू हेर्दा हट्टा कट्टा र खाइलाग्दा पनि रोगले थिलोथिलो परेको सुनाउँदै शर्माले बाबुको उपचार गर्न केही सिप नलागेपछि काँधमै बोकेर सहयोग मागिरहनु परेको बताउनु भयो । उहाँले थप भन्नुभयो ‘भरतपुर क्यान्सर अस्पतालमा छोराको घाँटीको क्यान्सरको उपचार भइरहेको छ । किमो चढाउन बोलाएको छ । पैसा नभएर लैजान सकेको छैन । तलमाथि हुने हो कि भन्ने पिरले हामी नै आत्तिरहेका छौँ । घरमा श्रीमती देवी शर्मा पनि विरामी छिन् । कसरी बचाउने यो छोरोलाई । आफू जे भए पनि छोरोलाई कसरी बचाउने त्यही चिन्ता लागिरहन्छ ।’ परिवारको यो स्थितिपछि जेठो छोरो सजन शर्मा र छोरी शर्मिला शर्माको पढाई विग्रेको उहाँले बताउनु भयो । ‘अबोध यो बाब् रातदिन टोलाइरहन्छ । खाना खाँदैन । उपचार गर्न लगौँ पैसो छैन । कहिलेकाँही त बाबु भएर पनि के यस्तो नामर्द भएँ भनेर आफैलाई धिक्कार्छु । सबै कोसिस गरेँ । घर जग्गा बेचेर बचाउन कोसिस गरिरहेको छु । तर अब उपाय छैन’ उहाँले थप सुनाउनु भयो ।
पहिले हात भाँच्चिएको र नशा, स्नायु रोगले सताउँदा अहिले केही गर्न नसकेको उहाँको भनाई छ । यसअघि आफूले भारत र नेपालमा मजदुरी गरेर काम गरी परिवार पालेको सुनाउँदै उहाँले दुखेसो पोख्नुभयो यत्रो ठुलो शरीर छ, आटिलो शरीर देखिन्छ तर केही गर्न सक्दिन । रोग लागेपछि कसैको केही लाग्दो रहेनछ । अब बाँच्ने आशा जनता भएकाले सहयोग पाउने उहाँले आशा ब्यक्त गर्नुभयो । मिडियाबाट धेरै मानिसले सहयोग र उद्धार पाएको भन्दै अन्तिममा मिडियासंग गुहार मागेर केही हुन्छ कि भन्ने विश्वासमा रहेको बताउनु भयो ।
प्रतिक्रिया