संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गर्नुभएको छ ।
युक्रेनमा रुसले आक्रमण गरेका मुख्य सहरको भ्रमण र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् युद्ध रोक्न असफल भएको भन्दै आलोचना गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले युक्रेन अहिले ठूलो निराशा र क्रोधको केन्द्र बनिरहेको पनि बताउनुभयो ।
१५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिए पनि युक्रेन युद्धमा सुरक्षा परिषद्ले केही गर्न नसकेको गुटेरेसले बताउनुभएको छ । तर शान्ति कायम गर्ने यात्रामा कहिल्यै हार मान्न नहुने भन्दै उहाँले सुरक्षा परिषद्ले सक्दो काम नगरे पनि राष्ट्र सङ्घका अरु निकायले भने मानवीयताका थुप्रै काम गरिएको बताउनुभयो ।
एक हजार चार सय कर्मचारीले युक्रेनमा गास, बाससहितका अन्य सुविधाको लागि काम गरिरहेको गुटेरेसले बताउनुभयो ।
पत्रकार सम्मेलन चलिरहेकै बेला राजधानी किएभमा दुई वटा ठूला विस्फाेट हुँदा हल हल्लिएको थियो । महासचिव गुटेरेस रुस भ्रमणपछि युक्रेनमा जानुभएको हो । रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाभन्दा धेरै समय भइसकेको छ ।
प्रतिक्रिया