रुकुम पश्चिम – रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिका-१ खलङ्गामा एक पुरुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका-१ चौर गाउँका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलवार बिहान कृषि विकास कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको हाे ।
मृतक शर्मा मुसिकोट नगरपालिका-१ मा डेरा गरी बस्दै आएको बताइएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । परिवारका सदस्यहरुले मृतक शर्माले अत्यधिक मदिरा सेवन गर्ने गरेको बताए तापनि ज्यान जानुकाे कारण पत्ता लागेकाे छैन ।
घटनाको थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएकाे डीएसपी सोतीले बताउनुभयो ।
प्रतिक्रिया