माेरङ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले धाेका खाए पनि अरू कसैलाई धाेका नदिने बताउनुभएकाे छ । नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
देउवाले भन्नुभयाे, ‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो । शङ्का उपशङ्का पैदा गर्ने काम गर्नु हुँदैन । नेपाली कांग्रेसले धोका खाएको हो, अरूलाई धोका दिँदैन भन्ने कुरा सबै साथीले बुझ्नुस् । यस्तो मौका गुमाउनु हुँदैन । उचाल्ने पछार्ने मानिस धेरै छन् ।’
कार्यक्रममा बाेल्दै उहाँले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । उहाँले पालिकामा गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्नुभयो ।
सत्तारूढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो । अहिले कसैको डर र त्रास नभएको अनुभूति नागरिकाले गरेको बताउँदै उहाँले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्याउन गठबन्धन बनेको धारणा राख्नुभयो ।
देउवाले विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताउनुभयो ।








प्रतिक्रिया