कपिलवस्तु, २९ वैशाख ।
स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ। यस्तै महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहेको २ नमुना मतदान केन्द्र बनाइएको छ ।
कपिलवस्तु नगरपालिका– ३ यशोधरा मावि मतदान स्थलमा २ सरकारी कार्यालय हाक्दै आएका महिलाको नेतृत्वमा सबै कर्मचारी महिला रहने गरी मतदान केन्द्र बनाइएको हो । मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले १० पालिकाकालागि २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र खडा गरिएका छन् । जसमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा छन् ।
यस्तै यशोधराका २ मतदान केन्द्र महिला कै नेतृत्वमा सबै महिला कर्मचारी रहने गरी नमुना मतदान केन्द्र खडा गरिने मुख्य निर्वाचन अधिकृत शर्माले बताए । प्रत्येक केन्द्रमा एक मतदान अधिकृत एक सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरी ५ जना छन् । यशोधराको क निर्वाचन केन्द्रमा मतदान अधिकृत कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मा नियुक्त भएकी छिन् ।
सो केन्द्रमा सहायक मतदान अधिकृत जनता मावि हदौनाकी निमावि शिक्षिका मनकला गैरे, सहायक कर्मचारीहरुमा सुन्दर प्रावि मालपाराकी प्रावि शिक्षिका उपासना पाण्डेय, रामदेव प्रावि बिठुवाकी प्रावि शिक्षिका अनिता शर्मा र जिल्ला प्रशासन कार्यालयकी कार्यालय सहयोगी सुशिला कहार खटिने छन् ।
यस्तै यशोधरा माविकै ख मतदान केन्द्रमा बुद्धभुमी नगरपालिककी इन्जीनीयर निकिता त्रिपाठी मतदान अधिकृत, प्रशासन कार्यालयकी नासु सिता बन्जाडे सहायक मतदान अधिकृत तथा दोहनी स्वास्थ्य चौकीमा कार्यरत अहेब कमला गैर पन्थी र सिद्धार्थ गौतमबुद्ध गुम्बा प्राबिकी शिक्षिका उमा पोख्रेल सहायक कर्मचारी र डिभिजन वन कार्यालय कपिलवस्तुकी कार्यालय सहयोगी किस्लावती धोबी खटिने छन् ।
यशोधरा मावि क मतदान केन्द्रकी मतदान अधिकृत शान्ति शर्माले महिला कै नेतृत्वमा सबै कर्मचारीहरु महिला रहने गरी बनाइएको मतदान केन्द्र आफ्नो लागि नौलो अनुभव रहेको बताइन् । ‘आफ्नो कार्यालय त हाक्दै आएकी छु, वैशाख ३० मा हुने मतदान पनि व्यवस्थित रुपले सञ्चालन गर्नेछु’ उनले भनिन् ।
महिला कै नेतृत्वमा मतदान अधिकृतको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै आफूहरुले जिम्मेवारी सफलतापूवर्क सम्पन्न गर्ने उनले बताइन् । यस्तै यशोधरा मतदान केन्द्र ख को मतदान अधिकृतको जिम्मेवारी पाएकी निकिता त्रिपाठीले आफ्नो जीवनको यो पहिलो अनुभव भएको बताइन् । ‘सिभिल इन्जीनीयरको रुपमा काम गर्दै आएकी छु, मतदान अधिकृतकोरुपमा काम गर्न लागको यो मेरो पहिलो अनुभव हो’ उनले भनिन् ।
आफूले पाएको यो जिम्मेवारी राम्ररी पूरा गर्ने उनले बताइन् । उता वैशाख ३० गते हुने निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० पालिकामा खडा भएको निर्वाचन अधिकृतको कार्यालय मार्फत् मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई आवश्यक सामाग्री दिइ पठाइएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताए ।
मतपत्र तथा निर्वाचनमा प्रयोग हुने ६२ प्रकारका सामाग्रीहरु र अनुसुचीसहित मतदान केन्द्रमा कर्मचारीहरुलाई पठाइएको छ । निर्वाचनमा कुल २ हजार ३३७ कर्मचारीहरु खटिएका छन् । प्रत्येक केन्द्रमा ३ जना छुट्टै स्वयमसेवक राखिएका छन् । मतदान केन्द्रमा वैशाख २७ गते कर्मचारीहरु मतदान केन्द्रमा। मतगणका लागि समेत स्थानहरुको छनौट भई सकेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।
‘निर्वाचनको लागि तयारी तीव्र पारेका छौ’ उनले भने। मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले सर्वदलीय बैठक गरी मतदाता परिचय पत्र वितरण कार्य जारी रोखेका छन् । उता निर्वाचनलाई स्वच्छ भयरहित र निष्पक्ष बनाउन नेपाल र सशस्त्र प्रहरी, म्यादी प्रहरीसहित ४ हजार बढी सुरक्षाकर्मीहरु परिचालन हुने प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए ।
कपिलवस्तुमा १० पालिकामा मेयर, उप मेयर, ९६ वडाध्यक्ष, ३ सय ८४ वडा सदस्य गरी ५ सय पदकालागि ३ हजार ५५२ उम्मेदवारी परेको छ। जिल्लामा कुल ३ लाख ७३ हजार१ सय मतदाता छन् । महाराजगंज नगरपालिकामा भने जेठ ३ गते निर्वाचन हुनेछ ।
प्रतिक्रिया