प्रेसपाटी डेस्क, २७ कात्तिक, कपिलवस्तु
कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्तको हिन्दु धार्मिक परम्पराअनुसार बिहीबार रामघाटमा अन्तिम संस्कार गरिएको छ। स्व. गुप्तको पार्थिव शरीरलाई कपिलवस्तु नगरपालिका परिक्रमा गराई धार्मिक स्थल रामघाट पु¥याइएको थियो। उहाँका छोरा अकलेशकुमार गुप्ता र डा. राजेशकुमार गुप्ताले वैदिक विधिअनुसार दागबत्ती दिनुभएको स्थानियबासी गुणाखर गैरेले बताउनु भयो ।

२००१ साल असार २७ गते जन्मनुभएका गुप्तको २०८३ साल कात्तिक २६ गते निधन भएको थियो। उहाँले २०२७ देखि २०६१ साल सम्म जनप्रतिनिधिका रूपमा सार्वजनिक सेवा गर्नुभएको थियो। वरगदवा गाउँ पञ्चायतको प्रधान पञ्चबाट सुरु भएको उहाँको राजनीतिक तथा सामाजिक यात्रा तौलिहवा आदर्श गाउँ पञ्चायतको उपप्रधानपञ्च र प्रधानपञ्च हुँदै कपिलवस्तु नगरपालिकाको नगरप्रमुख सम्म पुगेको थियो।
स्व. गुप्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, आफन्तजन तथा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दुई छोरा र दुई छोरीका पिता गुप्त सादा जीवन र उच्च विचारका धनी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
नगरको विकास र सार्वजनिक सेवामा लामो समय योगदान पु¥याउनु भएका गुप्तको निधनले कपिलवस्तुले एक अनुभवी जनप्रतिनिधि गुमाएको छ। उहाँको पार्थिव शरीर पञ्चतत्त्वमा विलीन भएसँगै जिल्लावासीले उहाँप्रति श्रद्धा, सम्मान र भावपूर्ण स्मरण व्यक्त गरेका छन्।
पूर्व नगरप्रमुख गुप्तको निधनमा कपिलवस्तुका पाँच पालिकामा शोक बिदा
कपिलवस्तु २७ कात्तिक
कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख रामदास गुप्तको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कपिलवस्तु जिल्लाका पाँच स्थानीय तहले शुक्रबार एक दिनका लागि शोक बिदा दिएका छन्।
गुप्तको निधनले स्थानीय तह तथा समग्र जिल्लालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकाले शोक बिदाको घोषणा गरेका हुन्।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कात्तिक २६ गते जारी गर्नुभएको सूचनामा पूर्व नगर प्रमुख गुप्तको निधनले नगरपालिका परिवार मर्माहत भएको जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
त्यस्तै महाराजगञ्जका नगरप्रमुख अब्दुल कलाम, कृष्णनगरका नगरप्रमुख अजय प्रताप शाह, यशोधराका अध्यक्ष शिवदयाल तिवारी र मायादेवीका अध्यक्ष वलीउद्दिन मुसलमानले पनि शोक विज्ञप्तिमार्फत कात्तिक २७ गते एक दिनका लागि सार्वजनिक बिदा घोषणा गरेका हुन्।
लामो समय स्थानीय शासन र जनसेवामा समर्पित गुप्तप्रति जिल्लाका पाँच स्थानीय तहले संस्थागत रूपमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। उहाँको निधनमा व्यक्त गरिएको यो सामूहिक शोकले सार्वजनिक जीवनमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गराएको छ।














प्रतिक्रिया