कपिलवस्तु, ०६ जेठ ।
नेकपा माओवादी केन्द्र को कपिलवस्तुमा लोकप्रियता बढेको हालै सकिएको स्थानीय तहको निर्वाचनले देखाएको छ ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका १० पालिकाका प्रमुख जित्न नसके पनि वडागत अवस्थाले माओवादीको लोकप्रियता बढाएको दर्शाएको हो ।
०७४ सालमा माओवादीले जिल्लाको कृष्णनगरमा एक्लै प्रतिस्पर्धा मार्फत नगर उपप्रमुख जितेको थियो । यद्यपि यो निर्वाचनमा भने उक्त नगरपालिका माओवादीले गुमाउन पुगेको छ ।
शुद्धोधन गाउँपालिकामा उपाध्यक्ष जित्ने गरि माओवादीका उम्मेद्वार होम प्रकाश चौधरी अगाडी बढेका छन् । चुनावको अन्तिम नतिजा भने सार्वजनिक भइसकेको छैन् । ९६ वडा रहेको जिल्लामा मंगलबार विहानसम्म माओवादी केन्द्रले ७ वडामा विजयीको झण्डा फहराउन पुगेको छ ।
अहिले शुद्धोधन गाउँपालिका, महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकाको मतगणना जारी छ । यी पालिकाका कतिपय वडा माओवादीले जित्ने सम्भावना छ । माओवादीले जितेका वडा मध्ये सबैभन्दा बढी मायादेवी गाउँपालिकाका हुन् । त्यहाँ माओवादीले तीन वडा जितेको छ । ८ वडा रहेको मायादेवीमा वडा नं १ मा नेकपा माओवादी केन्द्रका इसहाक मुसलमान, वडा नं. ५ मा माओवादीका राघवेन्द्र पाण्डेय र वडा नं. ८ मा माओवादीका मुस्ताक अहमद मुसलमानले वडाध्यक्ष जितेका छन् । कृष्णनगर नगरपालिकाको वडा नं. ८ मा माओवादीका नुर महोम्मद खाँले वडाध्यक्ष जितेका छन् ।
शिवराज नगरपालिकाको वडा नं. ९ मा रामगोपाल थारु र वडा नं. ७ मा अनुप कुमार चौधरीले माओवादीबाट वडाध्यक्ष जितेका छन् । वाणगंगा नगरपालिका वडा नं. ३ मा टेकबहादुर झेँडीले पनि वडाध्यक्ष जितेका छन् । ०७४ मा माओवादीले शिवराजमा १ र वाणगंगामा १ वडाध्यक्ष जितेको थियो भने, मायादेवीमा कुनै वडामा जित निकाल्न सकेको थिएन् ।
प्रतिक्रिया