कपिलवस्तु, ०६ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण गर्दै चक्रपाणि अर्यालले भूमिहिन सुकुम्बासीका समस्या समाधान आफ्नो प्रमुख काम भएको बताएका छन् । शुक्रबार नगरपालिकामा पदभार ग्रहण गर्नेक्रममा पत्रकारहरुसंगको कुराकानीमा नगर प्रमुख अर्यालले राष्ट्रिय भूमि आयोगसंग समन्वय गरि आफुले काम थाल्ने बताएका छन् । यस्तै अर्यालले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार आफ्नो मुख्य काम भएको पनि बताएका छन् । सामुदायिक विद्यालयको पढाई प्रति बारम्बार प्रश्न उठ्ने गरेको भन्दै नगरबासीका छोराछोरी पढाईका लागि अन्यत्र जानुपर्ने स्थितिको अन्त्यका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम गर्ने बताए ।
साथै उनले आफुले गर्ने प्राथमिकताका क्षेत्रबारे खुलस्त पारेका छन् । नगर प्रमुख अर्यालले भौतिक विकास पनि प्राथमिकताको क्षेत्रमा रहेको बताए । भौतिक विकास पनि विकासको प्रमुख आयाम रहेको भन्दै काम हुन नसकेको क्षेत्रमा पूर्वाधार विकास गर्ने जनाए । उनले स्वास्थ्य क्षेत्रलाई पनि प्रमुख प्राथमिकतामा राखेका छन् । न्यून आय भएका जनताको स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर आफुले तत्कालै योजना बनाएर काममा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
नगरमा शुसासन कायम राख्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्ने पनि उल्लेख गरे । नगरबासीको अपार मायाले नगरको प्रमुखमा निर्वाचित हुने अवसर मिलेको भन्दै जनमतको सधैं सम्मान गरेर आफु अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए । नगर उपप्रमुखमा रहदा आफुले थुप्रै ज्ञान हासिल गरेको भन्दै अब अगामी दिनमा काम गर्न सजिलो हुने उनले दाबी गरे ।
प्रतिक्रिया