कपिलवस्तु, २० जेठ ।
कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिकाको पहिलो बैठकले माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेको हो । नव निर्वाचित नगर प्रमुख अजय थापाले कार्यभार ग्रहण गर्दै नगरमा माध्यमिक तह सम्मको निशुल्क शिक्षा लागु गर्ने घोषणा गर्नु भएको थियो । नगर प्रमुख थापाले गरेको घोषणालाई अब कार्यपालिकाले निर्णय गर्दै कार्यान्वयन गर्ने भएको छ । आर्थिक बर्ष २०७९/०८० र शैक्षिक सत्र २०८० बाट अनिवार्य आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षा लागु गर्ने निर्णय कार्यपालिकाले गरेको हो । यस सम्बन्धमा गृहकार्य गरि प्रतिवेदन तयार गर्न बैठकले नगर प्रमुख थापाको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ । कार्यदलमा उपप्रमुख शिवकुमारी चौधरी , वडा अध्यक्षहरु रिजवान अहमद , रामगोपाल चौधरी , मन्जु मिश्र, माहेताब आलम खा, सामाजिक विकास समितिको संयोजक , आर्थिक प्रशासन शाखा प्रमुख सदस्यहरु रहेका छन भने शिक्षा युवा तथा खेलकुद शाखा सदस्य सचिव रहने गरि कार्यदल गठन गरिएको छ ।
यस्तै नगरको पहिलो कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७४ मा नगरपालिकाका निवर्तमान जनप्रतिनिधीलाई ५ वर्षे कार्यकाल सफल रुपमा व्यतित भएकोमा धन्यवाद ज्ञापन गर्ने र औपचारिक कार्यक्रम गरी विदाई गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अमुल्य मत दिइ निर्वाचित गराउनु हुने सम्पूर्ण शिवराज नगरवासीलाई आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।
बैठकले नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४ को अनुसूची ५ मा व्यवस्था भए बमोजिमका समितिहरुमा संयोजक र सदस्यहरु समेत तोकेको छ । योजना पूर्वाधार र संरचना विकास समिति संयोजकमा वडा नं. ११ का वडा अध्यक्ष रामेश्वर बर्मा , जनसंख्या तथा सामाजिक विकास समितिको संयोजकमा वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, आर्थिक विकास समिति संयोजकमा वडा नं। ७ का वडा अध्यक्ष अनुपकुमार चौधरी , कृषि वन तथा वातावरण र विपद व्यवस्थापन समिति संयोजक वडा नं. ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेको , शुसासन तथा संस्थागत विकास समिति संयोजक वडा नं. ४ का अध्यक्ष नसिम अहमद खाँ, विधेयक समिति संयोजक वडा नं. २ का वडा अध्यक्ष राम बहादुर चौधरीलाई तोकेको छ ।
यस्तै बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ ले व्यवस्था गरे अनुसार विभिन्न समितिहरु गठन गरेको छ । उप प्रमुख शिवकुमारी चौधरीको संयोजकत्वमा ३ सदस्यीय ,राजश्व परामर्श समिति, नगर प्रमुख अजय थापाको संयोजकत्वमा ५ सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उप प्रमुख चौधरीको संयोजकत्वमा ७ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ ।
२० जेष्ठ २०७९, शुक्रबार
प्रतिक्रिया