बुटवल २४ असार ।प्रदेशको अस्थायी राजधानी बुटवलका वासीन्दाले सास्ती भोग्ने म्याद थप हुने अन्तिम तयारी भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकअन्तर्गत बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणका लागि पुनः म्याद थप हुने भएको हो । निर्माणमा ढिला सुस्ति गर्दै आएको ठेकेदारले टालटुले काममै म्याद गुजारेको छ । पटक–पटक ताकेता गर्दा पनि अँटेरी गर्दै ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीलाई नै फाइदा हुने गरि सार्वजनिक खरिद ऐनको १२ औं संशोधन आएपछि थप बहाना पुगेको छ ।
पछिल्लो पटक थपिएको म्याद असार मसान्त सकिँनै लाग्दा नयाँ ऐन आएपछि ठेकेदारले फेरि उन्मुक्ति पाउने भएको छ भने, बुटवलका जनताले सास्ती भोग्नु पर्ने भएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले म्याद थप्नका लागि बहाना खोजिरहेका बेला, कानूनको नयाँ संसोधनले उसलाई थप सहज बनाएको छ ।२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो ।हाल नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ ।
केही क्षण घाम लाग्दा धुलाम्य हुने गरेको छ । यो सास्ती झण्डै ६ वर्षदेखि भोग्नुपरेको स्थानीयको गुनासो छ । सडक प्रयोगकर्ता र किनाराका व्यापारिक बस्तीले हैरानी र सास्ती ब्यहोर्नुपरेको दुखेसो पोख्छन् । चौराहादेखि गोलपार्क सम्मको सडक खण्डमा नाली निर्माण भएपनि त्यसको ढक्कन बनाइएको छैन । नाली निर्मणको अन्य काम पनि पूरा भएको छैन ।सर्भिस लेनको टुंगो छैन । सर्भिस लेनमा परेका बिजुलीका तार र पोल हटाइएका छैनन् भने उहिल्यै हटाउन सुरू गरिएका खानेपानीका पाइप पनि हटाएर सकिएको छैन । सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाउन बाँकी रहेको र नाली निर्माणको काम ८० प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयको भनाइ छ ।
२४ असार २०७९, शुक्रबार
प्रतिक्रिया