रुपन्देही २८ साउन । गृहमन्त्री बालकृष्ण खाणले किसानका धान पाक्ने बेला सम्म मलखाद आउने आश्वासन दिन छाड्नु भएको छैन ।उहाले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रुपियाँ रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो ।
अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो । नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उहाँको भनाइ छ ।
शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
२८ श्रावण २०७९, शनिबार
प्रतिक्रिया