अन्तर्राष्ट्रिय

युक्रेन र इरानबारे जी–७ मन्त्रीहरूको बैठक



पेरिस, २३ कात्तिक (रासस/एएफपी):


युक्रेन युद्ध अन्त्यका लागि निष्पक्ष समाधान खोज्न र इरानमाथि सम्भावित थप आक्रमण रोक्न कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन् । बैठकमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्रीहरू सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो दुवै दिन बैठकमा उपस्थित हुनुहुनेछ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबीच मङ्गलबार र बुधबार अबु धाबीमा हुने वार्तामा युरोपको भूमिका सुनिश्चित गर्नुपर्ने विषय पनि बैठकको प्रमुख चासो रहनेछ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले अबु धाबी वार्तामा युरोपेली राष्ट्रहरूको प्रतिनिधित्व हुने र फ्रान्स पनि सहभागी हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग समग्र युरोपलाई समेट्ने ठूलो सम्झौताको सम्भावना औँल्याउनुभएपछि युरोपेली राष्ट्रहरूमा युक्रेनलाई प्रतिकूल सर्त स्वीकार गर्न बाध्य पारिने हो कि भन्ने चिन्ता छ । इरानमाथि थप आक्रमणको सम्भावना ट्रम्पले अस्वीकार नगरेपछि मध्यपूर्वको तनाव र हर्मुज जलघाँटीबाट हुने ऊर्जा ढुवानी सामान्य अवस्थामा फर्काउने विषय पनि बैठकमा उठ्नेछ । ट्रम्पले शुक्रबार इरान सम्झौता गर्न निकै इच्छुक रहेको बताउनुभएको थियो । बैठकका अवसरमा फ्रान्सले चेर्नोबिल आणविक केन्द्रको क्षतिग्रस्त सुरक्षा गुम्बज मर्मतका लागि दाता सम्मेलन पनि आयोजना गर्नेछ । मर्मतका लागि करिब ५० करोड युरो आवश्यक पर्नेमा अहिलेसम्म आधाभन्दा केही बढी रकम मात्र जुटेको छ । सन् २०२७ को वसन्तसम्म बाँकी रकम जुटाउने लक्ष्य राखिएको छ । फ्रान्सेली विदेशमन्त्री बारोटका अनुसार मार्सेमा लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न १४ अन्तर्राष्ट्रिय बन्दरगाहको सञ्जाल स्थापना गर्ने कार्यक्रमसमेत हुनेछ । यसैबीच, रुबियोले अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टीको पराजयबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै अमेरिकामा शक्ति विभाजन हुनु असामान्य नभएको बताउनुभएको छ ।

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६