अर्थ-वाणिज्य

रुपन्देहीमा स्थापित नेता बीच नै प्रतिस्पर्धा : चर्चित यूवा उम्मेदवार पाउनवाटै बञ्चित




लुम्बिनी २३ भदौ। आगामी प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा स्थापित नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यसअघि निर्वाचनमा विजयी र प्रतिस्पर्धामा रहेका व्यक्ति नै उम्मेदवारका लागि सिफारिस भएका हुन् । यसपटक राजनीतिक दलहरूको सिफारिसमा नयाँ अनुहार विरलै छन् । धेरै क्षेत्रबाट प्रतिनिधिसभाका लागि स्थापित नेता एकल सिफारिसमा परेका छन् । जसले गर्दा केही निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ नेताबीच भिडन्त हुने देखिएको छ । खास गरी, सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेबाट हस्ती नेता मैदानमा उत्रिने देखिएको छ । यसले जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पुरानै अनुहारले निरन्तरता पाउने भएपछि नयाँ पुस्ता छायामा परेका छन । रूपन्देही गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस नेता भरतकुमार शाह, प्रमोद यादव, एमालेका घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राप्रपाका दीपक बोहरा, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरूको गृहजिल्ला हो । गत प्रतिनिधिसभा निर्वाचनमा होमिएका विभिन्न दलका शीर्ष नेताहरू आगामी चुनावमा पनि आमनेसामने हुँदै छन्  । यसपटक रूपन्देही–१ बाट प्रतिनिधिसभाका लागि कांग्रेसबाट पूर्वजिल्ला सभापति अब्दुल रज्जाकको नाम एकल सिफारिसमा परेको छ । क्षेत्र नम्बर ३ बाट गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाममात्र सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । कांग्रेसले क्षेत्र नं. ४ बाट वर्तमान सांसद प्रमोद यादव र ५ बाट संघीय संसद्का लेखा समिति सभापति भरत शाहको नाम एकल सिफारिस गरेको जानकारी दिएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नाम निर्वाचन क्षेत्र नं. २ बाट एकल सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको गत आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । गृहमन्त्री खाँण र एमालेका उपाध्यक्ष पौडेलको गृहजिल्ला भएकाले रूपन्देही अहिले चर्चामा छ । रूपन्देही–२ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका पौडेल निर्वाचित भएका थिए । रूपन्देही–१ मा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र छविलाल विश्वकर्माको नाम सिफारिस गरेको छ । भुसालको नाम रूपन्देही–३ बाट पनि सिफारिस भएको छ । क्षेत्र ३ मा भुसालसहित चार जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । पार्टी क्षेत्रीय कमिटीले भुसालसहित वासुदेव घिमिरे, दुर्गा भुसाल र सर्वजित साहको नाम सिफारिस गरेको हो । राप्रपाले रूपन्देही–१ बाट वरिष्ठ नेता बोहरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष वसन्त न्यौपानेले बताए । गठबन्धनअन्तर्गतको नेकपा एकीकृत समाजवादीले रूपन्देही–२ बाट राजु गुरुङको नाम सिफारिस गरेको छ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको नाम रूपन्देही–५ बाट प्रतिनिधिसभाका लागि एकल सिफारिस भएको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६