खोज–अनुसन्धान

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा एक बहालवाला र ७ पूर्वमन्त्री उम्मेद्वार




रुपन्देही ३१ असोज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये हरेकमा कम्तीमा एक पूर्वमन्त्री उम्मेदवार बनेका छन् । रुपन्देहीमा एक बहालवाला र ७ पूर्वमन्त्री प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार छन् । ५ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १, ३ र ४ मा पूर्वमन्त्रीहरु बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ र ५ पनि पूर्व मन्त्रीहरू चुनावी मैदानमा छन् । रुपन्देहीको क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा र हालै एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
दुवै पूर्व कृषि मन्त्री हुन् । रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन् । यस्तै, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव उम्मेदवार छन् । क्षेत्र नम्बर ५ मा पूर्व अर्थ राज्यमन्त्री भरत शाह सत्तारुढ गठबन्धनबाट उम्मेदवार छन् । रुपन्देहीका प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म उम्मेदवार छन् । १० प्रदेशसभा क्षेत्र रहेको रुपन्देहीमा संघका पूर्वराज्यमन्त्रीदेखि प्रदेशका बहालवाला मन्त्रीसम्म उम्मेदवार छन् ।
रुपन्देहीको क्षेत्र नं.३ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको संयुक्त प्रचार प्रसार कार्यालयको उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सत्तागठबन्धनका नेताहरुले २ खर्ब पैसा बोरामा हालेर घरमा लुकाएको आरोप लगाउनु भयो । थापाले राष्ट्रघाती सत्तागठबन्धनलाई हराउन राष्ट्रवादी शक्तिहरू एक भएर चुनावमा होमिएको बताउदै आगामी चुनाव राष्ट्रवादी शक्तिको पक्षमा हुने जिकिर गर्नुभयो । उहाँले नेताहरुले लुकाएर राखेको अवैध रकमलाई बाहिर ल्याउने दाबी गर्नुभयो । पूर्वमन्त्री थापाले चुनावपछि केपी ओलीको सरकार बन्ने र २ खर्ब पैसा बाहिर निकाल्ने दाबी गर्नु भयो । त्यस्तै क्षेत्र नं.३ ख प्रदेशका उम्मेदवार समेत रहनुभएको नेकपा एमालेका नेता तुलसी प्रसाद चौधरीले सत्तागठबन्धनको भन्दा आफुहरुको मत धेरै भएको बताउदै यो निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र तथा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६