रूपन्देही ११ कार्तिक । राष्ट्रिय जनमोर्चाले रूपन्देही २ मा जनमुक्तिका उम्मेदवारलाई गरेको समर्थन फिर्ता लिँदै नेमकिपाका उम्मेदवारलाई समर्थन गरेको छ ।अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा हिजो भूलवस ४ दलको निर्णयमा हस्ताक्षर भएको उल्लेख छ ।वक्तव्यमा लेखिएको छ, ‘मिति २०७९ साल कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलवस हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौं ।’रूपन्देही २ मा सत्तारूढ दलका साझा उम्मेदवार राजु गुरूङ बैंकको कालोसूचीमा रहेको पाइएपछि उम्मेदवारी खारेजी भएको थियो । त्यसपश्चात शीर्ष ४ नेताहरूले जनमुक्तिका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उम्मेदवार बनाउने निर्णय गरेका थिए ।यहाँ नेकपा एमालेबाट विष्णु पौडेल प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया