सिद्धार्थनगर १५ कात्तिक ।रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका विश्वकर्मा र भुसाल अहिले एकअर्काका सामान्य प्रतिस्पर्धी मात्रै नभएर आलोचक बनेर मत मागिरहनुभएको छ । दुवैले एक अर्कालाई तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहनुभएको छ ।
एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् ।
विश्वकर्मा र भुसालको रोचक प्रतिस्पर्धा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक र सबैको चासोको केन्द्र बनेको छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका देवदह निवासी टीकाराम चापागाईँ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । रुपन्देही क्षेत्र १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडा ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ ओमसोतिया गाउँपालिका र रोहिणी गाउँपालिका पर्छ । केही दिनअघि एउटै पार्टीका नेता यतिबेला फरक फरक दलबाट उम्मेदवार बनेर घरदैलोमा पुग्दा मतदाता अलमलमा परेका छन् ।
१५ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया