खोज–अनुसन्धान

स्वास्थ्य मन्त्री पन्थीको त्यो एक निर्णय: एक हजार परिवारलाई १/१ लाख पाउन प्रशासन गए पुग्ने




कपिलवस्तु ६ चैत । लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकमसम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिडपीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । लामो समयदेखि स्थानीय तह, जिल्ला प्रशासन तथा प्रदेश स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा निर्णय गरे पनि पीडित परिवारले राहत पाउन सकेका छैनन् । अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने भएको छ ।
लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले स्वास्थ्यमन्त्री विष्णु पन्थी र सम्बन्धित सचिवहरुलाई यस विषयमा तत्काल प्रक्रिया अगाडि बढाउनू भन्दै निर्देशन दिएसँगै यो प्रक्रिया अगाडि बढाइएको हो । मुख्यमन्त्रीको निर्देशनसँगै आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयन गरिएको स्वास्थ्य मन्त्री पन्थीले बताए । उनले पीडित परिवारका लागि राहत उपलब्ध गराउने निर्णय कार्यान्वयन गरी रकम निकाशाको प्रक्रिया अगाडि बढाइसकिएको बताए ।
प्रदेशका १२ जिल्लामा एक लाख ३९ हजार ५९३ जना संक्रमित भएको र ३ हजार ४०७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यीमध्ये ९६४ जना मृतकका परिवारले राहत पाउन सकेका छैनन् । स्वास्थ्यमन्त्री पन्थीले कोषमा रहेको ६ करोड ३६ लाख रकम तत्काल वितरण गर्ने र अपुग रकम अर्थ मन्त्रालयमा माग गरिएको जानकारी दिए । मन्त्री पन्थीका अनुसार मन्त्रालयले प्रदेशका सबै जिल्लाबाट माग भएबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ । राहत पाउन बाँकी रहेका मृतकका परिवारले ४ गतेदेखि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न मन्त्री पन्थीको आग्रह छ । तत्कालको लागि कोषमा भएको ६ करोड ३६ लाख रुपैयाँ निकासा गरिएको र यो रकमले ११ वटा जिल्लामा सबैलाई भुक्तानी दिन पुग्ने मन्त्री पन्थीको भनाइ छ ।
रुपन्देहीमा मृतकहरुको संख्या धेरै रहेकाले केही रकम अपुग भएको उल्लेख गर्दै मन्त्री पन्थीले अर्को चरणमा अपुग रकमको निकाशा गरिने जानकारी दिए । रुपन्देहीमा ९८६ जनाको कोभिडको कारण मृत्यु भएको तथ्यांक छ । त्यसमध्ये ५८८ जनाका परिवारले राहत पाएका छन् । ३९८ मृतकका परिवारले राहत रकम नपाएका विवरणमा छ । रुपन्देहीपछि दाङमा ४११ जनाको मृत्यु भएकोमा २८२ जनाका परिवारले राहत पाए । बाँकेमा ३९१ जना मृतकमध्ये ३९ जनाका परिवारले राहत पाउन सकेका छैनन् । गुल्मीमा २९३ जना मृतकमध्ये १२६ जनालाई राहत दिन बाँकी छ । पाल्पामा ४०, बर्दियामा ६२, कपिलवस्तुमा १९, पश्चिम नवलपरासीमा ४७, प्यूठानमा ३२, अर्घाखाँचीमा ४७, रोल्पामा २३ र रुकुम पूर्वमा २ जना मृतकका परिवारले राहत रकम पाएका छैनन् । तत्कालीन समयमा कोभिडबाट मृत्यु भएका परिवारले आवश्यक कागजपत्र जुटाउन नसक्दा तथ्यांकमा फरक परेको थियो ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६