अर्थ-वाणिज्य

शिवशिखर सहकारीका संचालक फरार : हजारौ बचत कर्ताको पूर्पुरोमा हात




बुटवल११ चैत । गएको असोज महिना देखि नै बचतकर्ताहरुको चेक साटन आनाकानी गरेको संकेत पाएका बचतकर्ताहरुले पैसा निकाल्न थालेपनि यस्तो ब्यवस्थीत कार्यालय भएको सहकारी के भाग्ला? भन्ठानेर तिलोत्तमा ३ का डासीराम गौतमले अरुको कुरामा त्यति चासो दिएनन्।तर तिनै डासीराम मात्रै होईन उनी जस्ता हजारौं बचतकर्ताहरु अहिले बुटवल वडा नं १० को योगिकुटी चोकमा रहेको शिवशिखर बचत तथा ऋण सहकारीका सन्चालक गायव भएपछि टाउको समातेर टोलाउन बाध्य भएका छन्। गएको कात्तिकमा बचतकर्ताहरुले जम्मा गरेको बचतका आधारमा ५ हजार देखि २५ हजार सम्मको चेक साटने सिमा तोकेको शिव शिखर सहकारीले मंसिर महिनामा भने एक महिना देखि ३ महिना सम्मको टोकन दिन थालेको थियो।
सोही भवनमा सहकारीले सन्चालन गरेको डिपार्टमेन्टल स्टोर्स समेत रहेको उक्त सहकारीले उक्त स्टोर्सबाट सामान लैजाने बचतकर्ता भने सहकारीको चेक दिएर सो बरावरको सामान लैजान पाउने ब्यवस्था मिलाएको थियो।तर बचतकर्ताहरुको संख्या दिनहुं बढेपछि शिवसिखरको सामान बेच्ने उक्त जुक्ती पनि काम लागेन। एक बचतकर्ताका अनुसार सबैले सामान उठाउन थालेपछि डिपार्टमेन्टल स्टोर्सका सप्लार्यसले समेत सप्लाई गर्न सकेनन्। बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागुन ८ गते बुटवल शाखा कार्यालय ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो। उक्त सूचनामा संस्था ‘मर्जर प्रक्रियामा रहेकाले फागुन ८ गतेदेखि २३ गतेसम्म पुँजी व्यवस्थापनका लागि आर्थिक कारोबार बन्द हुने’ उल्लेख गरिएको थियो।
तर १५ दिनपछि सहकारीले सुचना टासे अनुसार नै कार्यालय खुल्ने अपेक्षा गरेका बचतकर्ताहरू अव सहकारी खुल्छ भन्ने आशा मार्न थालेका छन्।गत कात्तिकदेखि नै उक्त सहकारी कार्यालयमा बचत फिर्ता माग्नेको भिड लागेको थियो। भिडभाडमै कार्यालय सञ्चालन गरे पनि गत फागुन ८ गते अध्यक्ष सुशील बानियाँकै हस्ताक्षरमा ‘कार्यालय १५ दिन बन्द हुने’ सूचना टाँसिएको थियो। तर बानियाले सुचना गरे अनुसार नै बचतकर्ताहरू फागनु २३ गते कार्यालय पुग्दा मूल गेटमा ताला लागेको थियो। भोलिपल्ट २४ गते पनि कार्यालय खुलेन।
एकाएक २५ गते ‘२३ गतेदेखि कार्यालय सञ्चालन गर्ने भनिएकोमा सञ्चालक समितिहरू विभिन्न शाखाहरूको सहजीकरणमा रहेकोले अर्को सूचना नआउँदासम्म कार्यालय बन्द रहने’ सूचना टाँसियो।बचतकर्ताहरूका अनुसार यसपछि सहकारीका सञ्चालकहरू सम्पर्कविहीन छन्। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो।यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो। बुटवलमा जम्मा गरेको बचत मध्ये ठुलो रकम काठामाण्डौका मिटरब्याजीहरुलाई र सहकारीका सन्चालक आफैले अनुत्पादक क्षेत्रमा लगाउने गरेका कारण समस्या भएको सहकारी अभियान्ताहरु बताउछन्।
बुटवलकी सीता मरासिनीका श्रीमान नेपाली सेनामा थिए। गत वर्ष सेवानिवृत्त भएपछि एकमुष्ट प्राप्त गरेको २२ लाख रुपैयाँ दुबैले सल्लाह गरेर शिव शिखर सहकारीमै जम्मा गरेका थिए। सहकारी सञ्चालकहरू सम्पर्कविहीन भएपछि आफूहरूको विचल्ली भएको सीताले बताइन्।बुटवलकै देवीनगरमा किराना पसल चलाउँछिन् पवित्रा भण्डारी। उनले मासिक १० हजार रुपैयाँका दरले गत पुससम्म १ लाख २० हजार रुपैयाँ बचत गरेकी छन्। उनी यो रकमले पसल बढाउन चाहन्थिन्।बुटवलकै कृष्णाकुमारीले ७५ हजार रुपैयाँ जम्मा गरेकी छन्। उनले गत माघमा २५ हजार रुपैयाँको चेक पाइन् तर बैंकमा साटिएन।सहकारी कार्यालय रहेको भवन अगाडि योगीकुटी चोकमै ठेलामा फलफूल बेच्ने मञ्जु बानियाँले दैनिक एक–दुई सय गर्दै एक वर्षमा ४० हजार रुपैयाँ जम्मा गरेकी थिइन्।

तर छोरी बिरामी भएर अस्पताल भर्ना गर्दा पनि उनले पैसा फिर्ता पाइनन्।मञ्जुजस्तै सरस्वती न्यौपानेले एक वर्षमा ६७ हजार जम्मा गरेकी थिइन्। भने तिलोत्तमा नगरपालिकाको शंकरनगर वनबाटिकामा पसल चालाउने माधव घिमिरले एक वर्षमा ५६ हजार रुपैयाँ जम्मा गरेका थिए।बुटवलका भीमबहादुर थापा ३० हजार रुपैयाँ बुझाएर सहकारीको शेयर सदस्य बने। मासिक बचत साढे एक लाख रुपैयाँ पुगेको छ। भने बुटवलका व्यापारी प्रमोद गुभाजुले सहकारीमा १० लाख रुपैयाँ बचत गरेका छन्।
सहकारीमा जोखिममा परेको थाहा पाएपछि गत दसैँदेखि बचतकर्ताहरूले रकम फिर्ता लिन खोजेका थिए। उनीहरूले केही दिन पाँच हजारदेखि २५ हजार रुपैयाँसम्मको सीमा तोकेर चेक पाएका थिए।

भुक्तानी दिन नसकेपछि सहकारीले आफ्नो गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरबाट निश्चित रकमको सामान दिने गरेको थियो। एक महिनादेखि यो पनि बन्द छ।बचतकर्ताहरू एकमुष्ट नभए किस्तामा भए पनि बचत फिर्ता लिन चाहन्छन्। तर सहकारीहरूको नियमन हुन नसक्दा आफूहरू ठगीमा परेको बचतकर्ताहरूको गुनासो छ।लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार सहकारीको मर्मबाहिर गएर बचतकर्ताको रकममा चलखेल गर्ने सहकारीमाथि सरकारले कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६