लुम्विनी २० चैत ।प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यालयमा ८ जना सचिव थुपारे सचिवको घुइचो लगाई रहदा लुम्विनी प्रदेश र मधेस प्रदेशलाई मुख्य सचिव विहन अवस्थामा पुराइएकोछ ।सरकारले दुईवटा प्रदेशमा प्रमुख सचिवविहीन हुनेगरी ३ जना सचिवको सरुवा गरेपछि यस्तो भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिवसहित ३ जना सविचको सरुवा गरेपछि मधेश प्रदेश र लुम्बिनी प्रदेश प्रमुख सचिवविहीन भएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल आगामी असार पहिलो साता अनिवार्य अवकाशमा जाँदै छन् ।
अर्यालको सरुवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी मधेश प्रदेशका प्रमुख सचिवको जिम्मेवारीमा रहेका कृष्णबहादुर राउतलाई ल्याइएको छ । राउत १५ महिनादेखि मधेश प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । २०७८ पुष २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो ।बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव डा।दीपक काफ्लेको कोशी प्रदेश प्रमुख सचिवमा सरुवा गरेको छ । काफ्ले विगत ८ महिनादेखि लुम्विनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । उनलाई गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो ।
मधेश र लुम्बिनीले प्रमुख सचिव पाएनन् :
लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका दिपक काफ्लेको कोशी प्रदेश प्रमुखमा सचिवमा सरुवा भएसँगै करिब ७ महिनादेखि रिक्त रहेको कोशी प्रदेशले प्रमुख सचिव पाएको छ । ७ महिना अघि तत्कालिन प्रमुख सचिव विनोदप्रकाश सिंहको गृह मन्त्रालयमा सरुवा भएपछि कोशी प्रदेश सरकार निमित्त प्रमुख सचिवको भरमा चलिरहेको थियो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत नेपाल सरकारका कानून सेवाका सहसचिव (प्रदेश सचिव) किशोरकुमार चौधरीले विगत ७ महिनादेखि नै निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।संघीय मन्त्रालयमा आइसकेका सचिव अहिलेसम्म प्रदेश प्रमुख सचिवमा नगएको हुँदा लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रमुख सचिवविहीन भएका हुन् । कि त सरकारले एक सचिवको दरबन्दी बढाएर पदपूर्ति गर्नुपर्छ ।
राष्ट्रिय किताबखानाको विवरण अनुसार आगामी असार ३ गते मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले अनिवार्य अवकाश पाउँनेछन् । त्यसपछि मात्रै सचिव बढुवा प्रक्रिया अघि बढ्ने भएकाले मधेश प्रदेश र लुम्बिनी प्रदेशले अझै केही समय कुर्नुपर्नेछ ।गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । बढुवा भएको १० दिनपछि असार १६ गते सिंहले कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए । जिम्मेवारी सम्हालेको २ महिना पुग्ने वित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थिए ।जतिबेला गृहमन्त्रीको जिम्मेवारीमा काँग्रेसकै नेता बालकृष्ण खाण थिए । पछिल्लो समय सबैभन्दा थोरै समय प्रदेशमा बस्ने सचिव सिंह नै हुन् । सिंह २०७९ असार १६ गतेदेखि २०७९ भदौ २९ गतेसम्म मात्रै कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा बसेका थिए ।
सिंहभन्दा अघि प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका अर्थ मन्त्रालयका राजस्व सचिव डा।रामप्रसाद घिमिरेले भने २०७८ साउन ३२ गतेदेखि २०७९ असार १४ गतेसम्म करिव एक वर्ष जिम्मेवारी सम्हालेका थिए । उनी भन्दा अघि नै प्रदेश प्रमुखको सचिवको जिम्मेवारीमा रहेकाहरु अहिले पनि प्रदेश प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।२०७८ कात्तिकदेखि गण्डकी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका रबिलाल पन्थ डेढ वर्षदेखि प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् । एक वर्ष अघि २०७८ फागुन १२ गतेदेखि बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालेका मुकुन्दप्रसाद निरौला पनि एक वर्ष भन्दा बढी समयदेखि सोही जिम्मेवारी सम्हालिरहेका छन् ।
उनीहरु २ जना भन्दा पछि नै सचिवमा बढुवा भएका विनोदप्रकाश सिंह भने कोशी प्रदेशबाट गृह सचिवमा सरुवा भएर पनि ६ महिना बिताइसकेका छन् । सिंह २०७९ असार ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका थिए ।२०७९ असारदेखि कर्णाली प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका डा। गोपीकृष्ण खनाल ९ महिनादेखि सोहि जिम्मेवारीमा रहेका छन् । यस्तै गत भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा भएका नारायणप्रसाद शर्मा पनि ७ महिनादेखि सुदूरपश्चिम प्रदेश प्रमुख सचिवकै जिम्मेवारीमा रहेका छन् ।
प्रधानमन्त्री कार्यालयमा ८ जना सचिव :
मधेश प्रदेश र लुम्बिनी प्रदेशमा प्रमुख सचिव विहिन भइरहदाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ७ जना सचिव कार्यरत छन् । सञ्चार सचिव डा बैकुण्ठ अर्यालयको प्रधानमन्त्री कार्यालयमा सरुवा भएसँगै सचिवको संख्या ८ पुगेको छ ।जसमा दिनेश भट्टराई आर्थिक तथा पूर्वाधार विकास, अर्जुनप्रसाद पोखरेल सामाजिक विकास तथा प्रादेशिक समन्वय, उदयराज सापकोटा कानून तथा मानवअधिकार, सुमनराज अर्याल राष्ट्रिय सुरक्षा तथा सुशासन गणेशप्रसाद पाण्डेय प्रशासन र नतिजा व्यवस्थापन र रामआधार साह ईन्जिनियर क्लष्टर हेरिरहेका छन् ।यस्तै, स्वास्थ्य अवस्था ठीक नभएका कारण सचिव खगेन्द्रप्रसाद नेपाल बढुवा भएदेखि नै विशेष दरबन्दीका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।अब सञ्चार सचिव अर्याल प्रधानमन्त्री कार्यालयमा जगेडामा बस्नेछन् वा अरु कसैलाई जगेडामा राखेर उनलाई कुनै जिम्मेवारी दिइने छ ।
प्रतिक्रिया