दाङ २४ चैत ।दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा बगेर वेपत्ता भएका बालक भेटिएका छन् । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानको झिमरूक गाउँपालिका–८, टिमुरेचौरका रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बिहीबार बेलुका ४ बजेको समयमा ससत्र व्यारेकको ठिक दक्षिण तर्फ राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । शुक्रबार मध्यान्ह करिव १२ बजेको समयमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा गाँडिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिएका छन् ।
यता गुल्मीको मदाने गाउँपालिकाको एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनु भएको छ । राति करिब १० बजे अचानक घरमा आगो लागेपछि जिसीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मृतक जिसी घरमा एक्लै बस्दै आएको प्रहरी निरिक्षक घिमिरेले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर–४ गोठीबाङमा भएको मोटरसाइकल दुर्घटनामा एसईई दिएर फर्कंदै गरेका विद्यार्थीको मृत्यु भएको छ । विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई दिएर फर्कंदै गरेका स्वर्गद्वारी नगरपालिका–७, तापाका १५ वर्षीय प्रतीक घर्तीको मृत्यू भएको हो । लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई ओभरटेक गर्ने क्रममा घर्तीले चलाएको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको हो । घाइते घर्तीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले जानकारी दिए । घर्ती बेल्वास मावि बेल्वासमा अध्ययन गर्दै आएका थिए ।
२४ चैत्र २०७९, शुक्रबार
प्रतिक्रिया