दाङ ६ बैशाख । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा लमहीका एक होटेल सञ्चालक पक्राउ परेका छन् । लमही नगरपालिका–५ लमही बजारस्थित बीएन्डबी होटलका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाललाई सोमबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । भुसालले कामको खोजीमा आएका दुई महिलालाई २०७९ मंसिरदेखि चैतसम्म विभिन्न प्रलोभन र डर–त्रास देखाई होटेलमा आएका पाहुनासँग रात बिताउन बाध्य पारेको उजुरीका आधारमा पक्राउ गरेको उनले जानकारी दिए ।
भुसालले पाहुनासँग रकम लिएर महिलाहरूलाई निश्चित रकम दिने गरेको र इच्छा नहुँदा पनि डर–त्रास देखाएर जर्बजस्ती गलत काम गर्न बाध्य पारेको भनी वडा प्रहरी कार्यालय लमहीमा जाहेरी परेको थियो । भुसालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भरहेको डीएसपी गौतमले बताए ।
प्रतिक्रिया