पाल्पा ६ वैशाख । तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजनाका सथा मखनटोल, शीतललपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काउन सुरु गरेको छ । नगरपालिकासहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको हो । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका छन् । यही क्षेत्रमा विक्रम संवत् २००२ देखि २०२२ सम्म तत्कालीन राणा शासकहरुले अर्को व्यवस्था नभएसम्मका लागि दिएका २४ वटा सटरसमेत रहेको थियो ।
पुरातत्व विभागको पत्रका साथै सर्वदलीय, सर्वपक्षीय छलफलबाट निस्केको निष्कर्षका आधारमा सौन्दर्यीकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा हटाउने निर्णय गरेको नगरप्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । नगरपालिकासँग सटर वहालसम्बन्धी गरिएको सम्झौता रद्द गरेको छ भने अन्य संघसंस्था वा सरकारी निकायहरुलाई सटरमा रहेका वहालवालाहरुलाई हटाउन ३५ दिनअघि नै पत्राचार गरेको थियो । सूचनाअनुसार घरटहरामा व्यापारी व्यवसायीले घरटहराका सामान हटाइसकेका छन् । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बन्दोबस्तीका सामान तयारी अवस्थामा राखेको छ ।
६ बैशाख २०८०, बुधबार
प्रतिक्रिया