जानु पाण्डे
कपिलवस्तु ११ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिकामा माध्यमिक तह पूर्णरुपले निःशुल्क भएको छ । पालिकाले विद्यालयलाई आवश्यक पर्ने थप बजेट विनियोजन गरे पछि सामुदायिक विद्यालयले निशुल्क भएको होे । नेपालको संविधान २०७७ को धारा ३१ उपधारा (२) मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भन्ने उल्लेख गरिएको छ । संविधानले निःशुल्क भने पनि विद्यालयले भने कुनै न कुनै बहानामा विद्यार्थीबाट शुल्क उठाउने गरेका गुनासो आउने गरेका छन् । विद्यार्थीबाट या अभिभावकको नाममा सहयोगको नामबाट लिने गरेका शुल्क निषेध गर्दै शिवराज नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा पूर्णरुपमा निःशुल्क कार्यान्वयन गर्ने भएको छ ।
शैक्षिक सत्र २०८० देखि नगरपालिकाका सामुदायिक विद्यालयमा माध्यमिक तह निःशुल्क कार्यान्वयन गरिने भएको छ । जसका लागि पालिकाले पाँच करोड २४ लाख ५९ हजारको बजेट थप गरिएको नगरप्रमुख अजय थापाले बताउनु भयो । थप बजेटबाट १६३ जना शिक्षक व्यवस्थापन गरिने छ । निजि स्रोतमा अध्यापन गराएका शिक्षकलाई प्रोत्साहन गर्दै शिक्षक नियुक्ति अन्तिम चरणमा पुगेको छ ।पालिकाले कार्यविधि तथा कानुन निर्माण गरी कार्यान्वयको चरणमा पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले बताउनुभयो । आउने शैक्षिक सत्रबाट विद्यालयले कुनै पनि शुल्क तथा सहयोग लिन पाउने छैनन् । रकम लिएको प्रमाण भेटिएमा पाँच हजार रुपियाँ जरिमाना गरिने बताइएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकासको अनुदानमा रकम अपुग भएमा पालिकाले थप गरिदिने व्यवस्था गरिने पाण्डेले बताउनुभयो । पालिकाले दरबन्दी मिलान गरी अपुग भएका विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ । न्यून विद्यार्थी भएका १० विद्यालय नजिकको विद्यालयमा गाभिएका छन् । नौ विद्यालयको तह घटुवा गरिएको पालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख उप–सचिव पूर्ण बहादुर विश्वकर्माले बताउनुभयो । पालिकाले सार्वजनिक पद धारण गरेका नागरिकका सन्तानलाई सामुदायिक विद्यालयमा अध्यापन गराउन अनिवार्य गरेको छ ।समाजमा रहेका उच्च वर्गका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्दा शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । विद्यालयमा हुने सबै खर्च पालिकाले दिने भएपछि अभिभावकसँग कुनै शुल्क उठाउन नपर्ने सरस्वती आधारभूत विद्यालयमा प्र.अ. सीताराम चौधरीले बताउनुभयो ।पालिकामा हाल ६३ सामुदायिक विद्यालय सञ्चालन रहेका छन् । जसमध्ये १० एकमुष्ट अनुदानमा सञ्चालन रहेको धार्मिक विद्यालय (मदरसा) रहेका छन् ।
११ बैशाख २०८०, सोमबार
प्रतिक्रिया