अन्तर्राष्ट्रिय

प्रधानमन्त्री दाहालले एक हप्ता चिनमा यसरी विताउने छन्




बेइजिङ ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि हिजो चीन पुगेका छन् ।चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए ।प्रधानमन्त्री दाहाल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता हुने छ । उनीहरु बीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ ।

सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुगेका छन् ।त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६