भैरहवा ७ असोज ।बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क वृद्धि गरेको हो ।कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क वृद्धि गरेको छ । कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १ गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीलाई तय गरिएको प्रवेश शुल्क वृद्धि गरेको छैन ।
भारतीय, सार्क र तेस्रो मुलुकका पर्यटकका लागि बढाइएको छ । साउनमै शुल्क बढाउने निर्णय भए पनि निर्णय कार्यान्वयनपछि मात्रै बल्ल यसबारे पर्यटन क्षेत्रमा सरोकार राख्नेलाई जानकारी भएको हो। भारतीय नागरिकका लागि यसअघि ४० रुपियाँ शुल्क थियो । अहिले ८० रुपियाँ पुर्याइएको छ । सार्क मुलुकका नागरिकका लागि यसअघि तीन सय रुपियाँ शुल्क थियो । अहिले उक्त शुल्क वृद्धि गरेर चार सय रुपियाँ बनाइएको छ । तेस्रो मुलुकका नागरिकले मायादेवी प्रवेश गर्न ६ सय रुपियाँ तिर्नुपर्थ्यो । अहिले आठ सय बनाइएको छ ।कोषका सदस्य सचिव सानुराजा शाक्यले सबैतिर महँगी बढेकाले शुल्क पनि वृद्धि गरिएको बताउनुभयो । थोरै शुल्क वृद्धिलाई अन्यथा लिन नहुने उहाँको भनाइ छ ।
७ आश्विन २०८०, आइतबार
प्रतिक्रिया