भैरहवा १३असोज । भू माफिया कति सम्म शक्तिशाली हुन्छन् भन्ने कुरा भैरहवा विमानास्थलमा देखा परेको छ । भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ ।धेरैजसो भारतको गोरखपुरमा बसोबास गर्ने सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले सात कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो । दर्ता गरिदिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मालपोतका नाममा परमादेशसमेत दिएको थियो । जबकि २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थलको उद्घाटनसमेत २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन ।
५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा आठ वर्ष लगाएर विमानस्थल बनेको एक वर्षपछि जग्गा व्यक्तिका नाममा सारिएको हो । उक्त जग्गा विमानस्थलको केही कम्पाउन्डभित्र र धावनमार्गमा समेत परेको छ । हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन । तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा सारिदिएको थियो । लालपुर्जा पाएपछि योजनाबद्ध रूपमा मिश्रले आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै मुआब्जाका लागि विमानस्थल आयोजना कार्यालयमा निवेदन दिएका छन् ।
भूमाफियाले मिश्रलाई प्रयोग गरेर जमिन व्यक्तिका नाममा दर्ता गराउन सफल भएको स्रोतको दाबी छ । २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा आफ्नो भन्दै मिश्रले निवेदन दिएपछि विमानस्थल आयोजना कार्यालयले विभिन्न निकायलाई जानकारी गराएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएको जनाए ।,
१३ आश्विन २०८०, शनिबार
प्रतिक्रिया