देश

तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह



काठमाण्डौ, २३ असोज । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेका छन् । आफूहरुलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको भन्दै उनीहरुले तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

आफूहरु सुरक्षित ठाउँमा रहे पनि मानसिक र शारीरिक रुपमा कठिन अवस्थामा रहेकाले उद्धारमा ढिलाइ नगर्न उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले भने स्वदेश आउन इच्छुकहरुलाई सबै विकल्प खुला राखेर छलफललाई अगाडि बढाएको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । त्यहाँको विदेश मन्त्रालयले पनि नेपालीलाई स्वदेश फर्काउन पूर्णरुपमा समन्वय गर्ने प्रतिक्रिया दिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।

स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने विषयमा सरकार आफैँ अलमलमा छ । इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो ।

यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ ।

यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

दूतावासले संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६