रुपन्देही, २५ असोज। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि यसबारे छानबिन सुरु भएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमान स्थल सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनले हक भोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेकोमा हदबन्दीका कारण २०२२ पुस २० मा हदबन्दीभन्दा धेरै जमिन मन्दिरका नाममा दिनु भएको थियो । निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो ।
मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९(ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरिएको थियो ।
ती जग्गा विभिन्न व्यक्तिको नाममा बिक्री भएको थियो । मालपोत कार्यालय रुपन्देहीले सात कित्तामा रहेको चार बिघा १७ कट्ठा छ धुर जमिन २०८० साल वैशाख ८ मा दर्ता गरिदिएको हो ।घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले पनि छानबिन सुरु गरेको छ । सो कार्यालयका सूचना अधिकारी एवं उपसचिव भेषराज रिजालले अख्तियारमा उजुरी परेकाले सरोकारवालसँग कागजपत्र मगाउने र अध्ययन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मुआब्जा समिति संयोजकको हैसियतमा आफूले जग्गाको रकम दिन रोकेको र मालपोत कार्यालय प्रमुखसँग स्पष्टीकरण सोधेको बताउनुभयो ।
प्रतिक्रिया