प्रदेश

मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोर रोक्ने षड्यन्त्रः उपाध्यक्ष पौडेल



बुटवल, २९ असोज ।

नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्र र योसंंग जोडिएको तिनाउ दानव कोरिडोर निर्माणको काम रोक्ने षडयन्त्र सरकारबाट भएको बताएका छन् । रुपन्देही उद्योग संघको २३ औं अधिवेशन उद्घाटन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र सम्पन्न हुंदा रुपन्देही औद्योगिक जिल्ला बन्न सक्ने भएपनि यसमा अवरोध भएको औंल्याए ।
मोतिपुर औद्योगिक क्षेत्रलाई राजनितिको विषय नबनाउन र समाधानतर्फ अघि बढ्न सरकार पक्षलाई उनले सुझाव दिए । रुपन्देहीमा औद्योगिक विकासले फड्को मार्न सक्ने प्रचूर म्भावना रहेको बताउदै पौडेलले कार्यकारी भुमिकामा रहेका ब्यक्तिले गुनासो गरेर हिड्न नहुने बताए । गफ चुट्ने र तास फिट्ने प्रवृत्तिले केही नहुने भन्दै उनले काम गर्ने समय आएको बताए ।

‘देशको आर्थिक अवस्था सिथिल अवस्थामा पुगेको छ जसको कुरा मन्दीमा पुगेको जनाउछ । संकटपुर्ण अवस्था छ’–उनले भने–‘सरकार मन्दी घोषणा गर्न लाज मान्ने र स्विकार नगर्दा झन समस्या बढेको छ । ’ बजारमा माग, उत्पादन र आयात घटेको सबै उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा उत्पादन भएको र धेरै उद्योगहरु बन्द भएका पौडेलले बताए । सरकार उद्योगीहरु, ब्यवसायीहरुको टाउकोमा लाठी सोझ्यार हिडेको पौडेलले बताए । सरकारले उद्योगी व्यवसायीलाई त्रसित गर्ने,आतंकित गर्ने, भयको वातावरण सृजना गर्ने काम गरेको आरोप लगाए । देशमा विदेशी लगानी भित्रिने वातावरण नरहेको दाबी गर्दै उनले यसकारण पनि थप जटिलता बढेको बताए । विदेशी लगानीकर्तालाई सहि वातावरण नरहेको भन्ने प्रचार गरिदा देशको अर्थतन्त्र धरासायी भएको बताए ।

शिक्षा, रोजगार, स्वास्थ्यको क्षेत्रमा कुनै वातावरण नरहदा स्वदेशमा अवसर नदेखेर विदेश पलायन हुने खालको योजना अघि बढाएको बताए । ‘देशमा लाजमर्दो अवस्था छ’— उनले भने–‘राजश्व शुरुको महिनाभन्दा धेरै कम उठेको छ । लक्ष्यको आधा प्रतिशत उठ्ने हो हैन भन्ने अवस्था छ । सरकारले आन्तरिक ऋण उठाउने प्रण गरे अनुसार त्यसबाट सरकारी कर्मचारीलाई तलब खुवाउने सोच बनाएको छ ’–उनले भने । योजना पूरा गरेका ठेकेदारलाई भुक्तानी दिन नसक्ने अवस्थामा सरकार पुगेको अवस्थामा एउटा उद्योगीले समयमा ऋणको ब्याज नतिर्दा ब्ल्याक लिस्टमा राखिन्छ भने सरकार तोकिएको काम सक्दा समेत भुक्तानी नदिएको उनले बताए ।

‘यो सरकार ब्ल्याक लिस्टेड भएको छ’— उनले भने । सरकारले यो समयमा सबै दललाई समेटेर सदनको साथ लिएर अघि बढ्नुपर्ने बेला त्यो गर्न नसकेको जिकिर गरे । निजी क्षेत्रलाई छलफलमा बोलाएर विज्ञहरुको विश्लेषण गर्नुपर्नेमा त्यसमा चुकेको औंल्याए । सरकारलाई सत्ता टिकाउनमा चिर्कटोमा सम्झौता गर्दैमा फुर्सद नभएको बताए ।
रोगको पहिचान सहि ढंगबाट नभई उपचार हुन नसक्ने भन्दै उनले देशको अर्थतन्त्रको विषयमा सरकारपक्षबाट फरकफरक मन्त्रीहरुको जवाफ आउनु दुखद भएको बताए । अर्थमन्त्री, प्रधानमन्त्रीको अर्थतन्त्रको विषयमा फरकफरक कुरा आउने गरेको पौडेलले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गठबन्धन सरकार आम नागरिकको समस्याप्रति गम्भीर नदेखिएको दाबी गरे । उद्योगीहरु बैक ब्याज दरको चिन्तामा रहेको भन्दै यस विषयमा सरकार समाधान गर्ने गरि कुनै काम नगरेको बताए । सरकार केवल आफ्नो आयु बढाउने तर्फमात्र सोच्दा देशको समृद्धि, सुशासनका विषयमा कुनै योजना ल्याउन नसकेको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ सिएनआईका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगमैत्री नरहेका कानुनलाई परिमार्जित गर्ने र अग्रिम जमानतको ब्यवस्था गर्ने जस्ता विषयमा कार्यान्वयन जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले आद्योेगिकमैत्री नीति बनाउने विषयमा ढिलाई हुदा यसबाट ठूलो लगानी भएका उद्योग डुब्ने अवस्था आएको बताए ।


बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्योगभन्दा विदेशमा भविष्य देख्ने युवा पुस्ताको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । सार्वजनिक खरिद ऐन र लिज ऐन ब्यवसायीको हितमा नरहेको भन्दै यसलाई परिमार्जन गर्न जरुरी रहेको उनले बताए । लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलमले युवा पुस्ता अध्ययनका लागि नभई विशेषज्ञ पेशामा रहेकाहरु समेत वैदेशिक पलायन बढेको उल्लेख गरे ।

संघका पुर्व अध्यक्ष बोनिन पियाले उद्योग नीति उद्योगीको विकासमा बाधक भएको बताए । देशमा स्थापित भएका उद्योग धरासायी हुन लाग्दा समेत सरकार चुप लाग्नु दुखद भएको उनले बताए । पछिल्लो १९ महिनामा ४३ लाख नेपाली विदेशिएको तथ्याक सामान्य नभएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष मोतिलाल पाण्डेले देशको अर्थतन्त्रलाई सुधार्ने गरी सरकारबाट योजना बनाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुषाल, उद्योग व्यापार संघ गठनका अध्यक्ष दर्पण श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, ढुवानी ब्यवसायी संघका अध्यक्ष जित बहादुर भाट लगायतले स्वदेशी उद्योगको संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६