देश

डोल्पामा चामल ढुवानी भएन, अघिल्लो वर्षको चामलबाट प्रतिपरिवार ६० केजी दिइँदै



जाजरकोट, ०३ कार्तिक । डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ ।

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिपरिवार ६० केजी मात्र दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताउनुभयो ।

सदरमुकाममा एक हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उहाँको भनाइ थियो । त्यस्तै सदरमुकामकै अर्को डिपो जुफालमा एक सय ५० क्विन्टलमात्र चामल रहेको र सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उहाँको भनाइ थियो ।

लिकु, सर्मी, सहरतारालगायत डिपोहरूमा लामो समयदेखि चामल नभएको अवस्था छ । यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन् । सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन् । कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन् । पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरेमा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका सात पालिकाका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका पालिकाका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ । तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्ट टेड्रिङ कर्पोरेशनको डोल्पा शाखाले बताएको छ । बर्सेनि सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ । उपल्लो डोल्पामा नुन र चामल पाँच वर्षदेखि ढुवानी हुन सकेको छैन । नाका बन्द भएका कारण त्यहाँ ढुवानी हुन नसकेको हो । सदरमुकामलगायत ठाउँमा समेत भेरी करिडोरको सडक मर्मतमा ढिला भएका कारण ढुवानीमा समस्या भएको हो । सदरमुकामबाट अहिले प्रतिव्यक्ति तीन पोका नुनमात्र विवतरण हुँदै आएको छ । भेरी करिडोरभित्र रहेको तल्लु, चौखा, रुपगाड, छलगाडमा पुल नहुँदा ढुवानीमा बाधा पुग्दै आएको छ ।

यता जाजरकोटमा रहेको गाउँका डिपोमा समेत एक गेडा चामल नभएको पाइएको छ । डिपोमा चामल आउला र दशैँ मनाउँला भनेर आशामा बसेका जाजरकोट जुनिचाँदे–७ रजुतराका रामबहादुर बुढाले निराश व्यक्त गर्नुभयो । दशैँअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उहाँजस्तै धेरै स्थानीयवासी समस्यामा परेका छन् । दशैँअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्न पिरलो छ । स्थानीय बजारमा चामल पाउन मुस्किल छ । पाइए पनि निकै महँगो पर्छ । खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहजरूपमा चामल पाइँदैन । वर्षामा बिग्रेको बाटो अझै नबनेका कारण पनि जुनिचाँदेवासी थप समस्यामा छन् ।

सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य सङ्कट झेलिरहेका स्थानीयवासी चर्को मूल्यको मारमा परेका छन् । बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन । रजुतरामा मात्र होइन जुनिचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो ।

नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा यतिबेला चामल अभाव देखिएको छ । ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिबेला रित्तै छन् । नयाँ बाली नपाकेको, वर्षाले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा चामल नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको ठूलो समस्या परेको छ । खाद्य जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गएको असोज २० गते यहाँका खाद्य डिपोमा चामल ढुवानीका लागि टेन्डर स्वीकृत भएको र १५ दिनभित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताउनुभयो । पन्ध्र दिनको म्याद भए पनि सम्भव भएसम्म पाँच दिनभित्र सम्झौता गरी दशैँअघि नै चामल ढुवानी गर्न आग्रह गरे पनि बाटो बिग्रेका कारणले ठेकेदारले चामल ढुवानी गर्न र सम्झौता गर्न आनाकानी गरेको उहाँले बताउनुभयो । केही समयअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले पनि दशैँअघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो । चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमबी बिल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ ।

त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला ट्रेडर्स नेपालगञ्जको नाममा टेन्डर स्वीकृत भएको छ । चौखा सात सय ५० क्विन्टल, नायकवाडा एक हजार क्विन्टल, टापुचौर पाँच सय क्विन्टल, ताँगाचौर सात सय ५० क्विन्टल, रजुतरा सात सय क्विन्टल, दशेरा र पजारुमा पाँचरपाँच सय क्विन्टल चामलको कोटा स्वीकृति भएको प्रमुख पौडेलले बताउनुभयो । पजारु र दशेरा नेपालगञ्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम खलङ्गाबाट हुनेछ । प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा मोटो चामल पाइन्छ भने मसिनो चामल झन्डै एक सय रुपैयाँ प्रतिकेजी पर्छ । ‘शाखा कार्यालयमा झन्डै चार सय ५० क्विन्टल मसिनो चामल गएको वर्षकै मौज्दात छ । त्यसले जेनतेन धानिरहेका छौँ’, प्रमुख पौडेलले भन्नुभयो ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६