प्रदेश

लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु



दाङ, १० कात्तिक । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तीन अर्ब बढीको लगानीमा प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु भएको छ ।निर्माणको लागि शर्मा सुगन जेभी कम्पनीले भ्याट बाहेक ३ अर्ब ९ करोड रुपैयाँको लगानीमा काम गरिरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवनमध्ये सात वटाको काम भइरहेको छ भने तीन वटाको शुरू हुने क्रममा रहेको छ ।

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका इन्जिनियर एवम् सूचना अधिकारी प्रदीप भट्टराईले निर्माणको काम भएका भवनको अहिलेसम्म ३० प्रतिशत भौतिक र साढे ८ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो ।

सबै मन्त्रालय एउटै मोडलमा निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९६ कोठासहित ६ तले हुनेछ । त्यसमा प्रमुख सचिवको कार्यकक्षसहित सानो बैठक हल र एउटा मल्टीप्रपोज हल बन्ने उहाँले बताउनुभयो । २०७९ मंसिर २८ गते सम्झौता भइ पुस १८ गतेबाट काम शुरू गरेको कम्पनीले २०८२ पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । राजधानीका प्रशासनिक संरचनाभित्र ११ सय मिटर बाटोसहित आन्तरिक सडक सञ्जालसमेत हुनेछ ।

यसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालयमा सहज सेवाको लागि यसरी संरचना र सडक सञ्जालले जोड्न खोजिएको भट्टरार्इले बताउनुभयो । सडकको चौडाइ नाली र फुटपाथसहित १० मिटरको हुनेछ ।

सबै मन्त्रालय आउजाउ गर्न पैदल यात्रा, भुइँतला अपांग मैत्री र अरू तलामा लिफ्टको व्यवस्था रहने उहाँले बताउनुभयो । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयको प्रशासनिक भवन सहरी विकास मन्त्रालयको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्यवन इकाइले बनाउने जिम्मामा रहेको छ ।

शुरूमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती प्राविधिक शिक्षालय भवन मर्मत सुधार गरेर मुख्यमन्त्रीसहित केही मन्त्रालय र प्रदेश सभा सञ्चालन गरिएको छ । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी सरकारका ७ वटा मन्त्रालय देउखुरीमा रहेका छन् । राप्ती प्राविधिक शिक्षालय मर्मत गरेर प्रदेश सभा र प्रदेश सचिवालय निर्माण गरिएको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुभयो ।

सातवटा मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, प्रदेश योजना आयोग, मुख्यमन्त्री निवास, उपसभामुख आवास, प्रमुख सचिव, संसदीय दलका कार्यालयलाई शिक्षालयकै भवन एकतला थपेर मर्मत तथा सुधार गरेपछि काम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अहिले प्रदेश सभा सचिवालय र प्रदेश सभा भवन निर्माण भएका छन् । भ्याटसमेत गरेर ४७ करोड १७ लाख २६ हजार रुपैयाँको लागतमा २०८० जेठ १५ गतेभित्र सम्पन्न हुने गरी एक तलाका छ वटा संसदीय दलका कार्यालय, तीन तले विषयगत समितिका भवन, एउटा पुस्तकालय र एक चमेना गृह निर्माणको काम सम्झौता भएर शुरू भएको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६