प्रदेश

महासचिव गुटेर्रेसले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण पनि गर्ने



कपिलवस्तु, १२ कात्तिक। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने भएको छ । लुम्बिनी विकास कोषले उहाँको स्वागतका लागि विशेष तयारी गरेको जनाएको छ । गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो ।

यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।

उहाँका अनुसार महासचिवको स्वागतसँगै लुम्बिनीको सम्बर्धन र सहयोगका लागि अपिल गरिने छ । त्यस्तै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्नेबारे पनि छलफल हुने छ । डा। लामाले महासचिव गुटेर्रेसको भ्रमणलाई लुम्बिनीमा ऐतिहासिक बनाउने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

उपाध्यक्ष डा। लामाले भन्नुभयो, “यो भ्रमण लुम्बिनीको विकाससँग मात्रै नभएर सिङ्गो बुद्ध, धर्म र पर्यटनसँग जोडिएको छ । ऐतिहासिक तथ्यलाई केलाउँदा बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास र प्रवर्धनमा संयुक्त राष्ट्रसङ्घको संस्थागत योगदान महत्वपूर्ण रहेको छ ।” लुम्बिनीको गुरुयोजना संयुक्त राष्ट्रसङ्घकै पहलमा तयार भएको हो । तर उक्त गुरुयोजना अनुसारको काम सकिएको छैन । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गर्नुभएको हो ।

लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गर्नुभयो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पार्नुभएको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दासमेत अधुरो छ । अहिलेसम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।

विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रिय स्तरमै तय गरियो । राष्ट्रसङ्घको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो ।

ऊ थान्तले बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनी विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसरी आफूले भ्रमण गरेको लुम्बिनी क्षेत्रको विकासका लागि आफैँले के सहयोग चाहिन्छ भनेर सोध्ने अन्तर्राष्ट्रिय जगत्को माथिल्लो ओहोदाको पहिलो व्यक्ति पनि संयुक्त राष्ट्रसङ्घको महासचिव ऊ थान्त नै हुनुहुन्छ । लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो । त्यसैकारणले अहिलेसम्म पनि संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वसाथ हेर्दै आएका छन् ।

विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी आज जुन ठाउँमा छ, त्यो ठाउँमा आउने गरी विकास हुनुमा संयुक्त राष्ट्रसङ्घकै योगदान रहेको बताउनुभयो ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६