देश

दसैंमा बाहिरियो ५५ अर्बको नयाँ नोट



काठमाडौँ, १२ कात्तिक ।

यस वर्षको दसैंको अवसरमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट बाहिरिएका छन् । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणबाट पनि देख्न सकिन्छ । यसअनुसार घटस्थापनाको अघिल्लो दिन (असोज २६) चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यही कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

उल्लिखित तथ्यांकले पनि गएको आठ दिन (असोज २६ देखि कात्तिक ३ सम्म) मा ५५ अर्ब रुपैयाँ नोट बाहिरिएको देखिन्छ । यद्यपि बैंकहरूको सबै विवरण आउन बाँकी रहेकाले दसैंको अवसरमा करिब ६० अर्ब रुपैयाँ बराबर रकम ढुकुटीबाट बाहिरिएको हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । उल्लिखित तथ्यांकमा सिक्काको हिसाब हुँदैन । दसैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । यसकारण दसैंमा बाहिरिएको रकमको पूर्ण विवरण आइनसकेको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए ।

उल्लिखित रकममध्ये केही दसैंमा सटहीमार्फत र बाँकी भुक्तानी (पेमेन्ट) का लागि बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिइएको राष्ट्र बैंकको भनाइ छ । नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति बढ्दैन । तर पेमेन्टले बढाउँछ । दसैंमा पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट पैसा झिक्छन् ।

दसैं, तिहार र छठका अवसरमा राष्ट्र बैंकको ढुकुटीबाट झिकिने पैसा नयाँ वा सुकिला मात्र हुन्छन् । यसैलाई राष्ट्र बैंकले भुक्तानी भन्छ । नोट सटही गर्दा सर्वसाधारण वा संस्थाबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसरी नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति नबढे पनि विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती संस्थाहरूको खातामा रहेको रकम बाहिर जान्छ । यस्तो भुक्तानीले बजारमा मुद्रा आपूर्ति बढाउँछ ।

यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले गत असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा सुरु गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको थियो । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो ।

यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गरेको थियो । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाका लागि भने राष्ट्र बैंकले निकै संयमित भएको (उनीहरूको मागभन्दा कम) मात्र नयाँ नोट वितरण गरेको थियो । हरेक वर्ष बढ्दै गएको नयाँ नोटको मागलाई कम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस वर्ष जानीजानी थोरै नयाँ नोट वितरण गरेको स्रोतको दाबी छ ।

दसैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६