देश

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छः महासचिव गुटेरेस



काठमाण्डौ, १३ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा रहेको राष्ट्र सङ्घ भवनमा आज सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।’

महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँ रहेको राष्ट्र सङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले नेपालीलाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गर्नुभएको हो ।

शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित देशबाट विकासशील देशका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पार्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराउनुभयो ।

महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपालमा रहेको राष्ट्र सङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्र सङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील देशमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गर्नुभयो । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गर्नुभएको थियो भने समारोहपछि महासचिव गुटेरेसले राष्ट्र सङ्घ भवन परिसरमा वृक्षरोपण गर्नुभएको थियो । चार दिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आउनुभएको हो । रासस

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६