खोज–अनुसन्धान

आफैमा पीडित पत्रकार अरुका पीडा घटाउन सहारा बन्दै




जाजरकोट २४ कात्तिक । बिनाशकारी भूकम्पका कारण यतिबेला जाजरकोट शोकमग्न छ । यहाँका पीडितहरूको अवस्था के छ भनेर जिल्लाका सञ्चार माध्यमहरूबाट समाचार सम्प्रेषण गर्ने पत्रकार आफ्नो पीडा लुकाउदै स्थलगत रिपोर्टिङ गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका भीमबहादुर सिंह अहिले सासू गुमाएको पीडामा हुनुहुन्छ । सिहंको सासू इन्दिरा शाहको भूकम्पमा परेर मृत्यु भएको छ ।सिंहको घरको तल्लो तलमा सासूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोले जनाएको छ । शाहलाई बुधवार बिहान मात्र सिंह आफैले घरबाहिर निकाल्नु भएको थियो । उहाँका तीन वटा घर पूर्ण रूपमा क्षति भएको छ । सिंहको परिवार आफन्तको घरमा बसेका छन । लगाएको कपडामै बाहिर निस्के अरू परिवार पनि निस्के तर सासू आमा सुतेको कोठामा पुरिएको सिंहको भनाइ छ । भूकम्प गएको ६ दिनबित्दा समेत क्षती भएको घर उत्खनन नभएको सिंहले बताउनु भयो । घर उत्खनन नहुदा घरभित्रको सामान निकाल्न सकिएको छैन ।
सिंह मात्र होइनन पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवं कान्तिपुरका पत्रकार हरिहर सिंह राठौरको घर पनि पूर्ण रूपमा क्षति भएको छ । श्रीमती जगत शाही घरभित्रै च्यापिएको अवस्थामा उद्धार गर्दा घाइते हुनुहुन्छ । उहाँको ढाडमा चोट देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार शाहको प्रदेश अस्पताल सुर्खेतमा उपचार जारी छ । कान्तिपूरकर्मी राठौर आफनो पिडा लुकाएर जिल्लाका ग्रामिण क्षेत्रमा नागरिकको पीडा खोज्दै रिपोर्टिङमा हुनुहुन्छ ।नेपाल पत्रकार महासंघ जाजरकोट शाखा सल्लाहाकार दीपबहादुर घर्तीको पनि घर पूर्ण क्षती भएको छ । घर्ती बस्दै आएको भेरी नगरपालिका ३ को घर पूर्ण क्षती भएसंगै डिजिटल सञ्चार अनलाई बन्द भएको छ । डिजिटल सञ्चारका पूम्पूर्ण सामाग्री क्षतीभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घर्ती भूकम्पपश्चात एकसरो लुगामा प्रभावित क्षेत्रमा हुनुहुन्छ । सल्लाहकार घर्ती यतिबेला त्रिपालको सहारामा बस्दै आउनु भएको छ ।
यस्तै जिल्लाको पहिलो रेडियो खलंगा एफएम पूर्ण क्षती भएको छ । भूकम्पका कारण भेरी नगरपालिका ३ मा रहेको रेडियो बन्द भएको छ । रेडियो सञ्चालनमा रहेको भवन पूर्ण क्षती भएसंगै सञ्चार गृहका सम्पूर्ण सामाग्री क्षतीभएको रेडियो खलंगाका स्टेशन म्यानेजर सरोज वलीले बताउनु भयो । भूकम्प पश्चात रेडियोका सम्पूर्ण प्रशारण समेत बन्द भएको छ ।रेडियो बन्द भएसंगै कार्यरत पत्रकार त्रिपालको सहारामा बस्दै आएका छन् । यस्तै जिल्लाको भेरीमालिका दैनिकमा कार्यरत मालबहादुर सिंह बस्दै आएको घर पूर्ण क्षतीभएको छ । घर क्षतीभए संगै सम्पूर्ण सामाग्री समेत अहिले घरमा पुरीएको अवस्थामा छ ।सिंहले प्रयोग गर्दै आएको क्यामरा, ल्याप्टप लगाएत सञ्चार सामाग्रीको अहिलेसम्म खोजि कार्य भएको छैन् । सिंह यतिबेला आफनो पिडा लुकाएर समाचारका लागि प्रभावित क्षेत्रमा छन् । प्रेस सेन्टरका केन्द्रीय सदस्य हेमन्त केसी पनि भुकम्पबाट प्रभावित हुनुहुन्छ । केसीले सञ्चालन गरेको नेपाल पोष्ट खबरको कार्यालय क्षती भएको छ ।
भेरी नगरपालिका ३ नयाँ बस्तीमा रहेको कार्यालय बस्दै आएको घर पूर्ण क्षती हुदा पालको सहारामा बस्दै आएका छन् । केसीको अनलाईन मिडियामा रहेका सम्पूर्ण सामाग्री नष्ट भएको उनको भनाइ छ । यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष विनोद घर्तीका तीन ओटा घर क्षती भएका छन् । छेडागाड नगरपालिका १० मा घर्तीको घर क्षती भएको छ । घर्ती बस्दै आएको भेरी नगरपालिका ४ घरमा पूर्णरुपमा क्षती हुदा उहाँ सडकमा पालको सहारामा बस्दै आउनु भएको छ ।‘सदरमुकाम खलंगामा किनेर पठाऊँ भने पाल छैन,’ घर्तीले भन्नुभयो, ‘गाउँमा पुगेका पाल पनि बाँडेका छैनन । पीडा आफ्नै छ तर पनि समाचार खोजी गरेर लेखिरहेको छु ।’ यस्तै भेरीमालिका दैनिकमा कार्यरत सृजना नेपालीको घर पूर्ण क्षती भएको छ । नेपाली बारीमा त्रिपालको सहारामा बस्दै आउनु भएको छ ।
६ बजे देखि पत्रिका बितरण गर्ने नेपाली अहिले पनि भूकम्पको त्रासका कारण बालबालिका छोडेर काम गर्दै आउनु भएको छ । जिल्लाको रेडियो हाम्रो पाईलामा समेत भूकम्पले क्षती गरेको छ । भूकम्पले क्षती संगै रेडियो प्रशारण प्रभावित भएको थियो । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष समेत रहेका बालकुमार शर्मा पनि यतिबेला प्रभावित क्षेत्रमा हुनुहुन्छ । आफनो भएको क्षतीको पिडा भुलेर उहाँ अरुको पिडा बटुल्दै आउनु भएको छ । भूकम्पले भेरीमालिका दैनिकमा समेत क्षती पुर्याएको छ ।
पत्रिकामा कम्पूटर, मेसिन र भौत्तिक संरचनामा क्षती भएको भेरीमालिका दैनिकका व्यवस्थापक सुरेन्द्र खड्काले बताउनु भयो । जिल्लामा क्रियाशिल पत्रकार सरोज वली, अनलाईनखवरका यज्ञ खत्री, प्रेम बिक, भौतिक मल्ल, लोकेन्द्र बिक, मोहन शाही, कालीबहादुर नेपाली, रेशमबहादुर खड्कालगायतका पत्रकारहरूको घरमा क्षती भएको छ । सदरमुकाम खलंगामा डेरा गर्दै बसेका यहाँका पत्रकारहरूको ल्यापटप, क्यामेरा लगायतका समानहरू क्षती भएका छन ।दैलेखबाट जाजरकोट पुगेका प्रेस चौतारी ननेपालका केन्द्रीय सचिव एवं कर्णाली इञ्चार्ज बिष्णु शर्मा पत्रकारको अवस्था निकै बेहाल रहेको तर पनि आफ्नो पीडा लुकाएर अरुको सेवामा खटिरहेको बताउनु हुन्छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६