काठमाडौँ ६ मंसिर ।नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले संविधान विपरीतका गतिविधिमाथि रोक लगाउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आह्वान गर्दै यसका विरुद्ध भइरहेका अवान्छित गतिविधिमाथि रोक लगाउन सरकारसँग माग गरेका हुन् ।
नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै ती संस्थाहरुहरूले संघर्षपूर्ण उपलब्धिको रक्षाका निम्ति समयमा सचेतपूर्ण ढंगले लाग्न सबैलाई आग्रह गरे ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोले आदिवासी जनजाति समुदायले प्रतिवाद गर्ने बताए ।
त्यस अवसरमा बोल्दै किरात याक्थुम चुम्लुङका प्रेम एक्तेन, तामाङ घेदुङका अध्यक्ष मोहन गोले र नेवा देय दवूका उपाध्यक्ष उमेश स्थापितले नेपाली जनताको संघर्षपूर्ण इतिहासबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति आदिवासी जनजाति समुदाय एक भएको भन्दै यो उपलब्धि भत्काउन गरिने जुनसुकै गतिविधिको सामूहिक तथा सशक्त रुपमा प्रतिकार गरिने समेत बताए ।
प्रतिगमनकारी शक्तिहरूले जनताको बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूका विरुद्ध तथाकथित हिन्दु राष्ट्रका नाममा भत्काउने प्रयास भइरहेको भन्दै त्यसको रक्षाका निम्ति सबै सचेत हुनुपर्ने नेपाल आदिवासी जनजाति महासंघ दिवश राईले बताए । उनले यो अभियानमा देशभक्त सबै पक्षहरू एकजुट हुन समेत आग्रह गरे ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा आदिवासी जनजातिहरुले सामूहिक रुपमा प्रतिकारको चेतावनी दिएको हो । राजतन्त्र पुनस्थापना, हिन्दु राज्य स्थापनाको लागि भन्दै प्रसाईंले अभियान चलाइरहेका छन् ।
त्यस अवसरमा संयुक्त रुपमा जारी विज्ञप्ति वाचन गर्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात(थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा, तामाङ घेदुङ र नेवा देय दवूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने जानकारी दिए ।
विज्ञप्तिमा नेपालको प्रचलित कानुन र संविधान विपरीत हुने अवान्छित गतिविधि रोक्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधि नेपालको प्रचलित कानुन र संविधान विपरीत समेत भएकाले त्यस खालको कार्यहरू तत्काल बन्द गर्न, गराउन हामी सम्बन्धित पक्ष र नेपाल सरकारको गम्भीर ध्यानाकृष्ट गराउन चाहन्छौ ।’
मुलुकमा सहअस्तित्व, समानता र सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण ढंगबाट धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै संविधान संशोधन र पहिचानको आन्दोलनलाई अघि बढाउन चरणबद्ध रुपमा प्रदेश स्तरीय पहिचान सभाको आयोजना गर्न गइरहेको भन्दै ती सभाहरूमा न्यायप्रेमी जनसमुदायलाई स्वतःस्फूर्त उपस्थिति जनाउन समेत अपिल गरिएको छ ।
मुलुकलाई पछाडि धकेल्न खोज्ने कुनैपनि प्रतिगमनकारी सभा, सम्मेलन र कार्यक्रममा सहभागी नहुन तथा यसको सर्वत्र विरोध र निन्दा गर्न समेत सम्पूर्ण आदिवासी जनजाति समुदायलाई अनुरोध गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृङ्खलाबद्ध बल प्रयोग भएको भन्दै विरोध जनाइएको छ । आदिवासी जनजाति समुदायले वार्ता र संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका छन् ।








प्रतिक्रिया