गुल्गी ९ मंसिर ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताउनुभएको छ। नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा धेरै भ्रष्टाचारी मौलाएको भन्दै अब यी भ्रष्टाचारीले छुट नपाउने दाबी गर्नुभयो। नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीहरूलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको उहाँको भनाइ छ ।शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको भन्दै भ्रष्टाचार गर्ने व्यक्तिलाई तीन पुस्ता पछिसम्म पनि नछाडने उहाँले उद्घोष गर्नुभयो ।पछिल्लो समय राजनीतिमा व्यक्तिवादी हाबी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। व्यक्तिवादी हाबी रहँदा देशको विकास नहुने उहाँको तर्क छ।
नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनले पार्टीको आगामी कार्यदिशा र गुल्मी घोषण पत्र जारी गर्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ।यता नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ। शनिबारदेखि सदरमुकाम तम्घास चिदिचौर खेलमैदानमा सुरु भएको दोस्रो जिल्ला सम्मेलनको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका छन्। नेपाली कांग्रेस पार्टीले हालसम्म गरेका कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यसहित दोस्रो जिल्ला सम्मेलनको आयोजना गरेको पार्टीले जनाएको छ।कार्यक्रममा केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताले सम्बोधन गरेका छन्।सम्मेलनमा १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागिता रहेको छ। मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्।
प्रतिक्रिया