रुपन्देही १७ मंसिर । नेपाली कांग्रेस लुम्बिनीको शनिवारदेखि बुटवलमा सुरु भएको प्रदेश सम्मेलनमा पार्टी संस्थापन समूहको आलोचना गर्ने नेताहरूको स्वर एकमुख जस्तै भयो । जसरी पार्टीको प्रदेश समितिमा इतर समूहको वर्चस्व रहेको छ शनिवारको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूको लाइन पनि त्यसै गरी नै मिल्यो ।कार्यक्रममा प्रमुख अतिथि रहेका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित संस्थापन समूहको पक्षमा बोल्ने वक्ताहरू निकै कम थिए । सभापति देउवा र सहमहामन्त्री किशोरसिंह राठोर बाहेक अधिकांश वक्ताहरू इतर समूहबाटै थिए ।
इतर समूहका नेताहरूले संस्थापन समूहको आलोचना गर्दा सहभागीहरूले हुटिङ गरिरहेको दृश्यले सभापति देउवाको मुहार उसै गरी तातेको देखिन्थ्यो ।भाषण कलामा निपूर्ण अधिकांश इतर समूहका नेताहरूले उठाउन खोजेको आलोचना र छेडछाडको देउवाले एकमुष्ठ छोटो जवाफ दिए– ‘मलाई भाषण गर्न मन पर्दैन, म काम गरेर देखाउने मान्छे हो, हेरम कसो सकिन्छ,धेरै गर्न दिने छाँट त छैन ।’ नेता चन्द्र भण्डारीको त नामै लिएर देउवाले अब भाषण होइन कामै गरेर देखाउन चुनौती दिए ।
देउवा वरिष्ठ नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा नबोल्दै प्रमुख अतिथि भए पनि काठमाडौँ जान हतार भएको भन्दै अगाडि बोलेर हिँडेका थिए । उनीभन्दा अगाडि इतर समूहका नेताहरू चन्द्र भण्डारी, दीपक गिरी, प्रदेश सभापति अमर सिंह पुनलगायतका नेताहरूले पार्टी संस्थापन समूहको आलोचना गरेका थिए । देउवाको डिफेन्समा बोल्ने नेताहरू कम भएको सहभागी प्रतिनिधिहरूले आंकलन पहिलै गरिसकेका थिए ।देउवा सम्बोधन गरेर हिँडेपछि बोल्ने कोइराला, शर्मा र थापाले पनि संस्थापन समूहको आलोचना गरेका थिए ।
कसले के भने ?
नेताहरूमा त्याग चाहियो, अब कांग्रेसले गठबन्धन गर्दैन :कोइराला
वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले नेता कोइरालाले कांग्रेसलाई परिवर्तन गर्नका लागि पार्टीभित्र फैलिएको निराशाको अन्त्य गर्नु जरुरी रहेको र त्यो निराशा अन्त्य गर्न कांग्रेस नेताहरूमा त्यागको भावना आवश्यक देखिएको बताए ।
नेतृत्वले त्याग गर्न सकेको अवस्थामा मात्रै हिंसा र निराशालाई अन्त्य गर्न सकिने बताएका छन् । उनले कांग्रेसका नेताहरूमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने भन्दै धेरैको समर्थन लिन खोजेका थिए ।
‘त्याग गर्न सक्यो भने कांग्रेस परिवर्तन हुन्छ र कांग्रेस परिवर्तन भयो भने देश पनि परिवर्तन हुन्छ, कांग्रेसले गल्ती कहाँ गर्यो र हामी कहाँनिर चुक्यौँ भन्ने विश्लेषण गरेर सुधारको बाटोमा अघि बढ्नु पर्ने अहिलेको जिम्मेवारी रहेको छ’ उनले भने ०८२ सालमा पार्टीको अधिवेशन गर्न नसके पार्टीले थप पराजय बेहोर्नुपर्ने छ र समयमै महाधिवेशन गरेर गए ०८४ मा कसैसँग गठबन्धन गर्न नपर्ने अवस्था आउँछ ।’
कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उनले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गर्दै भने ‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो, अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस् ।’ एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनु नपर्ने बताए ।
०४६ पछि उच्च ओहोदा बसेका सबैको सम्पत्ति छानबिन गरम धेरै हामी नै छौंः गगन थापा
महामन्त्री गगन थापाले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ०४६ सालपछि उच्च ओहोदामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका थापाले भने–‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानबिन गरौँ । जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने रु’ थापाले भने ‘यो बीचमा धेरै हामी नै सरकारमा बसेका छौँ, यसबाट थालनी गरौँ, नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने वातावरण बनाउनुपर्छ, भ्रष्टाचार गर्ने मान्छे जो सुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सकिँदैन भन्ने सन्देश दिऔँ ।’
देउवा अब सभापति, प्रधानमन्त्रीको दौडमा बस्नुहुँदैन : महामन्त्री शर्मा
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले अबको पार्टी नेतृत्व र प्रधानमन्त्रीमा अरूलाई नै अगाडि सारेर शालीनता देखाउनुपर्ने सुझाए । उनले यसो भन्दा देउवा भने कार्यक्रमस्थलबाट हिँडिसकेका थिए ।
पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभए युवाहरूलाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो ।
वाककलामा निपूर्ण शर्माले सभापतिलाई फुर्काउँदै भने ‘कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन देउवाको नेतृत्वमा सफल भएका हुन्, यो सानो उपलब्धि होइन, दुई पटक सभापति, ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालीनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ यसले पार्टी बलियो बनाउँछ, सभापतिज्यू शालिन र सहृदयी हुनुहुन्छ । हामी सबैको आग्रह अनुरोध मान्नुहुनेछ ।’
उनले जनताले बदलिएको कांग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको र नागरिकले अवस्थामा परिवर्तनको अपेक्षा गरेको बताए ।
संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने आग्रह गर्दै उनले जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने अबको अभियान हुनुपर्ने बताए ।
कांग्रेस जोगाउन देउवाले नेतृत्व छाड्नुपर्छ : चन्द्र भण्डारी
संस्थापन समूहको कडा आलोचक चन्द्र भण्डारी शनिवार पनि उसै गरी आफ्ना धारणा राखे । उनले पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन सभापति देउवाले नेतृत्व छोड्नुपर्ने प्रस्ताव नै राख्दै विधानतः २ पटक सभापति हुन नपाउने भएकाले पछाडि हटेर संरक्षक बन्न सुझाए । उनले गएको निर्वाचनमा नेतृत्वले उम्मेदवार छनौट प्रक्रिया र व्यक्ति राम्रो छान्न नसकेको भन्दै सभापति र पार्टी नेतृत्वको कडा आलोचना गरेका थिए ।
प्रतिक्रिया