कपिलवस्तु १७ मंसिर । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै ति क्षमताको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।३२ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा चारनम्बरमा भएको प्रदेश तथा स्थानिय सरोकारवालाहरु सङ्गको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अपाङ्गता भएका नागरिकहरुलाई प्रदेश सरकारले जुनसुकै क्षेत्रमा पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले अपाङ्ग नागरिकको क्षमता वृद्धि गर्नको लागि विभिन्न खालका कार्यक्रमहरु ल्याएको स्मरण गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अपाङ्ग नागरिकको पहुँच वृद्धि गर्नको लागि बाणगंगाले विभिन्न योजना र कार्यक्रमहरु ल्याउने बताउनुभयो । समाजमा अझैपनि अपाङ्गता भएका नागरिकहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु दुखद रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले अपांगताको क्षेत्रमा भएका राम्रा काम पनि दिवसमा स्मरण गर्नु पर्ने बताउनु भयो । काम गर्दा नीति , विधि र प्रविधिमा टेकेर काम गर्दा परिणाम आउने भन्दै अपांगता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरि योजना ल्याउदा नगरले जहिले पनि सहयोग र सहकार्य गरेको बताउनु भयो ।
अपांगताको क्षेत्रमा उद्देश्य अनुरुप राम्रा काम गर्न नगर सदैव तयार रहने उहाँले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अपांगताको क्षेत्रमा नयाँ उपलब्धि हुदै गएको औल्याउनु भयो । पहिलो पटक दुरसञ्चारले मोबाईलमा दिवसको ट्युन बजाउन थालेको स्मरण गराउनु भयो ।उहाँले अगाडि भन्नु भयो , अपांगता भएकालाई हवाई सेवामा ५० प्रतिशत ,यातायातमा ४५ प्रतिशत आरक्षणमा छुट लगायतका सकारात्मक उपलब्धि भएको बताउनु भयो ।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले हरेक अपाङ्ग नागरिकको उत्थानको निम्ति दिवसको दिन मात्र कार्यक्रम गरेर नपुग्ने भएकाले सबैले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रामकरण पालले अपांगता भएका व्यक्तिहरुले मनोबल बढाएर आफुलाई अब्बल साबित गर्नु पर्ने जनाउनु भयो ।
कार्यक्रममा उपस्थित अपाङ्गता भएका नागरिकहरुले अपाङ्ग भएकै कारण अफुहरुले भोग्नुपरेका समस्या र गुनासाहरु उठान गरेका थिए । अपाङ्ग नागरिकहरुको विषयमा सरकारले भनेजति कुनैपनि क्षेत्रमा कार्यान्वय हुननसकेको भन्दै उनीहरुले दुखेसो पोखेका थिए । सवारी साधनमा अपाङ्ग सिट भनेपनि आफुहरुले नपाएको, सरकारी तथा अन्य कार्यालयमा काम गर्न जाँदा आफुहरु अन्य नागरिक सरह लाईनमा खटिनुपर्ने, सरकारी जागिरको लागि भएका समस्या लगायतका समस्या समाधान गर्न उनीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा वाणगंगा नगरपालिकका महिला तथा वालवालिका शाखा प्रमुख सुशिला पन्त , नेपाल पत्रकार महासंघकी निवर्तमान उपाध्यक्ष पार्वती पाण्डे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई , संघका केन्द्रीय सदस्य शिला घिमिरे लगायतले बोल्दै अपाङ्ग नागरिकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । अपांग महासंघ लुम्विनी प्रदेशका सचिव सन्तोष पन्थीको सहजिकरण र अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाको स्वागतमा कार्यक्रम भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ,लुम्बिनी प्रदेस तथा अपाङ्ग उत्थान समाज, कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा जिल्लाका अपाङ्ग नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियाो ।
प्रतिक्रिया