कपिलवस्तु १९ मंसिर । काठमाडौंको बसुन्धरामा रहेको साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापकले बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। चितवन रत्ननगर घर भएका ३८ वर्षीय प्रकाश ढुंगानाले विभिन्न बहानामा बचतकर्ताको २ करोड ३१ लाख ९१ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको अनुसन्धानमा देखिएको हो।
सहकारीमा ठगी भएको थाहा पाएपछि सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए। रकम ठगी गरेपछि ढुंगानाले सफ्टवेयरमा समस्या आएको भन्दै सञ्चालक समितिलाई जानकारी दिएका थिए। तर प्राविधिक ल्याएर परीक्षण गर्दा कुनै समस्या देखिएन। त्यसपछि व्यवस्थापक ढुंगानाले दुई दिनको बिदा लिएर बसेका थिए। बिदा सकिएपछि पनि उनी कार्यालय पुगेनन्।
त्यसपछि सञ्चालक समितिले लेखा परीक्षक नियुक्त गरेर हिसाबकिताब हेरेको थियो। जसमा व्यवस्थापक ढुंगानाले निक्षेपकर्ताको रकम सिस्टममा नचढाउने र ऋणीहरुको ऋण असुल गरेर ल्याएपनि सिस्टममा अभिलेख नराख्ने देखिएको हो।
फरार रहेका ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनले ठगी गरेका विभिन्न प्रमाणले देखाएपछि प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया