वाँके १९ माघ । बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । विश्व सिमसार दिवसका अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका १ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको हो ।लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छोड्दै नदीमा छोडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अतिनै महत्वपूर्ण हुने बताउनुभयो ।सो अवसरमा मन्त्री केसीले राप्ती नदी आसपासको बस्ती त्यहाँको संस्कृति र त्यसको वरिपरिको धार्मिक र पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव लक्ष्मण पौडेलले गोही र घडियाल घट्दै गएकोले वातावरणमा समस्या पर्ने हुँदा सो का लागिनै घडियाल नदीमा छोडिएको बताउनुभयो ।होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले यस क्षेत्रमा बालुवा चोरेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकोले यस क्षेत्रलाई होमस्टेसहितको पर्यटकीय क्षेत्र बनाउनुपर्ने माग गर्नुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएके थियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ती गोही ल्याइएको थियो । बाँके राष्ट्रिय निकुञ्जले गत वर्ष राप्ती नदीमा १० वटा घडियाल गोही छाडेको थियो ।
प्रतिक्रिया