अर्थ-वाणिज्य

चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद




अर्घाखाँची १४ चैत । अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ । कपिलवस्तुमा रहेको विजया सिमेन्ट प्रालिले नगरपालिकाको छाप, लटेरप्याड र कीर्ते हस्ताक्षर गरेर चुनाढुंगा उत्खननका लागि सिफारिस गरेको फर्जीपत्र लेखेर खानी तथा भूगर्भ विभागले पठाएको नगर प्रमुख झविलाल थापाले साताअघि पत्रकार सम्मेलन गरी आरोप लगाएका थिए । तर, नगर प्रमुख थापाको सिफारिसलाई आधार मानेर खानी विभागले चुनढुंगा उत्खनन्का लागि अनुमति दिएपछि विजयाले उत्खनन थालेको थियो । मंगलबार राखिएको नगर कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यले सिमेन्ट कम्पनीले नगरपालिकाको छाप, लेटरप्याड चोरीको विषयमा सत्य–तथ्य सार्वजनिक नभएसम्म बैठक चल्न नदिने अडान राखेपछि नगर प्रमुख थापाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।
कृषिसहित नगरभित्रका कामका बारेमा छलफल गर्न बैठक बोलाइएको थियो । नगरको छाप, हस्ताक्षर लेटरप्याड दुरुपयोग भएको विषयमा एजेन्डा थिएन । धेरैले नगरप्रमुख थापाले दोहोरो चरित्र देखाएको आशंका गरेका छन् । वडा ९ का अध्यक्ष खगेश्वर पन्थीले कीर्ते गरेको कुरा सत्य–तथ्य के हो सार्वजनिक हुनुपर्ने बताए । ‘मेयरले कीर्ते गरेको भनेर पत्रकार सम्मेलन गर्नुभयो, त्यो के हो वास्तविकता चाहियो,’ उनले भने, ‘सिमेन्ट प्रालिले कीर्ते गरेको हो भने कानुनी दायरामा ल्याउनु प¥यो । यो विषय मेयरले पुष्टि नगर्दासम्म हामी बैठक सञ्चालन गर्न दिँदैनौं, भूमिकास्थान त कीर्ते नगरपालिका भनेर बदनाम भयो ।’ उनले नगर प्रमुख थापाले कीर्ते विषयलाई ढाकछोप गर्न खाजेको आरोप लगाए ।
चुनढुंगा उत्खनन् गर्दा ढिकुरा, नुवाकोट, खिल्जी, असुरकोट सहितका करिब ३० हजार जनसंख्यालाई पुग्ने खानेपानीका मुहान सुक्ने, बस्ती विस्थापित हुने भन्दै सरोकारवालाले ढुंगा उत्खनन् गर्न नहुने पक्षमा छन् ।पत्रकार सम्मेलन गरेको एक सातासम्म पनि नगर प्रमुख थापा मौन बस्नु भनेको पहिला आफै सिफारिस गरेर पछि सिमेन्ट कम्पनीले कीर्ते गरो भनिएको हो या वास्तविक कीर्ते नै हो स्पष्ट गरिनुपर्ने उनको माग छ ।वडा ९ का अध्यक्ष खेमराज चुँदालीले पनि ढुंगा निकाल्दा खानेपानीको मुहान सुक्ने र बस्ती नै विस्थापित हुने खतरा रहेकाले उत्खनन् गर्न नहुने बताए ।नगर प्रमुख थापाले विजया सिमेन्टले गरेको कीर्ते चिठीको बारेमा कानुनी परामर्श गरिरहेको बताए । वडाध्यक्ष र कार्यपालिका सदस्यले चुनढुंगाको विषयमा वास्तविकता बुझ्न खोज्नु स्वाभाविकै भएकाले बैठक स्थगित गरिएको उनले बताए ।विजया सिमेन्ट कम्पनीले भने नगरपालिका प्रमुख थापाले उद्योगलाई बदनाम गर्न झुटा आरोप लगाएको प्रतिक्रिया जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६