देश

स्थानीय तहको सञ्चित कोष रकमलाई बैंकहरूले निक्षेपमा गणना गर्न नपाउने



काठमाडौं, २१ चैत्र । बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने भएका छन् । १६ चैतको अर्थमन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि भन्दै १९ चैतमा अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकमको ६० प्रतिशत वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । १६ चैतको मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकको माघ मसान्तको तथ्यांक अनुसार स्थानीय तहको सञ्चित कोषमा रहेको ४० प्रतिशतले हुने ६६ अर्ब भन्दा धेरै राष्ट्र बैंकमा रहेको सञ्चित कोषमा रहेको छ भने ६० प्रतिशतले हुने करिब १ खर्ब बैंकहरूले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।

बैंकिङ प्राणलीमा अधिक तरलता पाएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा मार्फत ३ प्रतिशत ब्याजदरमा बैंकिङ प्रणालीबाट निरन्तर तरलता खिचिरहेको थियो ।

सरकारी कोषको पैसा बैंकहरूले विनाब्याज निक्षेपमा गणना गर्ने र राष्ट्र बैंकले ब्याज तिरेर तरलता खिच्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्र बैंकमा तरलता खिच्ने कि नखिच्ने विषयमा पनि दुई मत देखिँदै आएको थियो ।

१८ चैतसम्मको राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब २ अर्ब पुगेको छ । कुल कर्जा लगानी ५० खर्ब ८७ अर्ब रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.६४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेप गणना गर्न नपाउँदा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १ खर्बले घटेर करिब ६१ खर्बको हाराहारी हुने देखिन्छ । सीडी रेसियो केही बढेर करिब ८१ प्रतिशत पुग्न जान्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत हुने गरी कर्जा लगानी गर्न पाइने व्यवस्था छ । ७९.६४ प्रतिशत सीडी रेसियो रहेको अवस्थामा ९० प्रतिशतसम्म पुग्दा स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपको रुपम गणना गर्दा बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य स्रोत ६ खर्ब ४० अर्ब भन्दा भन्दा बढी रहेको छ ।

स्थानीय तहको सञ्चित कोषमा रहेको रकमलाई निक्षेपमा गणना गर्दा बैंकहरूसँग लगानीयोग्य कर्जाका लागि उपलब्ध स्रोत पनि घटेर करिब साढे ५ खर्बमा सीमित हुनसक्छ ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएकोले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न खासै समस्या हुँदैन । यस्तै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्नुपर्ने तरलतामा भने केही कमी हुनेछ । ४ वटा बैंकलाई भने यसले केही दबाब पर्न सक्ने एक बैंकरले बताए ।

गत महिना फैलाइएको भ्रमले गर्दा ठूलो निक्षेप बाहिरिएको एनआईसी एसिया बैंकमा र्नै स्थानीय तहको सञ्चित कोषको ठूलो रकम निक्षेपको रुपमा रहेको थियो । यस्तै अन्य तीन वटा सरकारी बैंक समेत गरी ४ वटा बैंकमा मात्रै ५० प्रतिशत भन्दा धेरै रकम स्थानीय तहको सञ्चित कोषको रहेको थियो ।

१८ चैतको तथ्यांक अनुसार राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत १ खर्ब र स्थायी निक्षेप सुविधा मार्फत ६५ अर्ब ७० करोड गरी १ खर्ब ६५ अर्ब ७० करोड तरलता खिचेको छ ।

चालु आर्थिक वर्ष लागेपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामार्फत ८ खर्ब २५ अर्ब १० करोड तरलता प्रशोचन गरिसकेको छ । २ फागुनदेखि राष्ट्र बैंकले उक्त सुविधा सुरु गरेको थियो । यस्तै निक्षेप संकलन उपकरण मार्फत ६ खर्ब ९३ अर्ब ५ करोड तरलता प्रशोचन गरेको हो ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६